कुनै बेला देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको हेटाँैडा कपडा उद्योग करिब अढाई दशकदेखि बन्द छ । एक हजार दुई सय जनासम्मलाई रोजगारी दिएको यो उद्योग बन्द भएसँगै बारम्बार पुनः सञ्चालनको बहस हुने गरेको छ । विगतमा एकात्मक शासन व्यवस्थामा मात्र नभई देशमा संघीय शासन व्यवस्था लागू भइसकेपछि पनि संघ तथा प्रदेश दुबै सरकारले समय समयमा हेटाँैडा कपडा उद्योग पुनः सञ्चालनबारे चर्चा र बहस गर्ने गरेको छ । हेटौँडा कपडा उद्योगलाई पहिलेकै अवस्थामा सञ्चालन गर्ने बहससँगै अध्ययनदेखि पुनः सञ्चालनको तयारीसमेत भइसकेका छन् । बन्द भएपछि सरकारले दुई पटक खारेजी गरिसकेको यस उद्योगको भौतिक संरचना तथा मेसिन उपकरणको उचित व्यवस्थापन नगर्दा पुनः सञ्चालनको बहस र चर्चा हुने गरेको हो ।
गृहमन्त्री सुधन गुरुङले पदबहाली गरेलगत्तै प्रहरी प्रधान कार्यालयमा पुगेर स्वेदशमै नेपाल प्रहरीका लागि गुणस्तरीय पोसाक उत्पादन गर्नुपर्ने बताएपछि हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने कुराले चर्चा पाइरहेको छ । गृहमन्त्रीले प्रहरीको पोसाकलाई गुणस्तरीय बनाउन देशमै उच्च गुणस्तरको कपडा उत्पादन गर्ने उद्योग स्थापना गरिने बताएका थिए । उनको यो भनाइपछि नयाँ उद्योग खोल्ने कि हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने भन्ने बहस सुरु भएको छ । हेटौँडा कपडा उद्योगको बारेमा केही दिनअघि ‘हेर्ने कथा’ले उजागर गरेपछि यसप्रति धेरैको चासो र चर्चा पनि सुरु भएको छ । हेटौँडा कपडा उद्योगको बारेमा सामग्री सरकारले हेटौँडा कपडा उद्योगसहित बन्द अवस्थामा रहेका आधा दर्जनभन्दा बढी उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन गर्न अडिट गराउने तयारीसमेत गरेको छ ।
विसं २०३५ सालबाट उत्पादन सुरु गरेको हेटौँडा कपडा उद्योग २०५७ सालदेखि नियमित सञ्चालन हुन सकेको छैन । सरकारले २०६० सालमै खारेजीमा लैजाने निर्णय गरेकोमा २०६६ सालमा पुनः खारेज गरिएको थियो । केही दिनअघि संघीय संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालनका लागि पहल गर्न सरकारलाई आग्रह गरेका थिए । यता बागमती प्रदेशसभामा पनि ललितपुरबाट निर्वाचित सांसद रामकृष्ण चित्रकारले आफू मन्त्री हुँदा कपडा उद्योग सञ्चालनको प्रयास गरे पनि सफल नभएको भन्दै बन्द उद्योगहरू पुनः सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन् । करिब डेढ वर्षअघि बागमती प्रदेशसभा अन्तर्गतको अर्थ तथा विकास समितिको बैठकमा खण्डहर बन्दै गएको हेटौँडा कपडा उद्योग सञ्चालनको बारेमा चर्को बहस भएको थियो । नेपाली सेनाले सैनिक कल्याणकारी कोषबाट लगानी गरेर हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने भन्दै अध्ययन गरेर २०८० सालको माघमा सरकारलाई प्रतिवेदनसमेत बुझाएको थियो ।
संघ तथा प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा हेटौँडा कपडा उद्योग पुनःसञ्चालनको विषय समावेश गर्ने गरेको भए पनि कार्यान्वयनमा आउन सकेको छैन । उद्योगमा भएका मेसिन तथा प्रविधि प्रयोग गरेर अहिलेको अवस्थामा हेटौँडा कपडा उद्योग सञ्चालन गरेर नाफा आर्जन गर्न सक्ने सम्भावना न्यून देखिन्छ । गाउँघरमा तान लगाएर परम्परागत कपडा बुन्दै आएकाहरुलाई स्थानीय तहसँगको सहकार्यमा हेटौँडा कपडा उद्योगको मेसिन हस्तान्तरण गर्न सकेमा घरेलु उद्योगको प्रवद्र्धनका साथै रोजगारी वृद्धिमा सहयोग पुग्न सक्छ । गर्विलो इतिहास बोकेको हेटौँडा कपडा उद्योगको भौतिक संरचनामा नयाँ प्रविधिसहितको मेसिन जडान गरेर सञ्चालन गर्नेतर्फ सरकारको ध्यान जानु आवश्यक छ ।











