हेटौँडा : हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले पूर्वप्राथमिक तहका विद्यार्थीको दीक्षान्त सम्पन्न गरेको छ । शुक्रबार विद्यालयले एक कार्यक्रम आयोजना गर्दै पूर्वप्राथमिक तहका २५ जना विद्यार्थीलाई दीक्षित गरेको हो ।पूर्वप्राथमिक तहबाट दीक्षित विद्यार्थी अब प्राथमिक तहमा भर्ना हुनेछन् । शुक्रबारै विद्यालयले नर्सरीदेखि कक्षा ३ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशित गर्दै कक्षामा प्रथम, द्वितीय तथा तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरणसमेत गरेको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईंले सामुदायिक विद्यालयहरुमा साना कक्षा तथा पूर्वप्राथमिक तहमा राम्रोसँग पठनपाठन हुँदैन भन्ने भ्रम जनप्रिय माविले चिर्ने प्रयास गरिरहेको बताउनुभयो । उहाँले यसअघि भएका प्रयासभन्दा फरक किसिमले शैक्षिक गुणस्तर बढाउने प्रयास विद्यालयले गरिरहेको बताउनुभयो । आफ्ना सन्तान सोही विद्यालयमा भर्ना गरेका प्रधानाध्यापक चौलागाईंले अन्य स्थानीय शिक्षकहरुले पनि सोही विद्यालयमा नै भर्ना गरेको जानकारी दिँदै विद्यालयको गुणस्तरमा सुधार गर्न तल्लो तहबाट नै ध्यान दिनुपर्ने मान्यता विद्यालयको रहेको बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य इन्द्रप्रसाद खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका अधिकृतहरु रमेश बिडारी, राजमणि शर्मा, विद्यालय व्यवस्थापन समितिका सल्लाहकारहरु गुन्जनबहादुर न्यौपाने, रामकृष्ण तिवारी, श्रोत खोजी व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद पनेरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु लगायत शिक्षक तथा विद्यार्थीहरु एवम् अभिभावकहरुको उपस्थिति थियो ।
२०६३ सालबाटै प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन हुँदै आएको जनप्रियमा हाल ११ जना यसै तहका लागि शिक्षकहरु नियुक्त गरिएका छन् । विद्यालयमा करिब एक सय ५० जना विद्यार्थीहरु पूर्वप्राथमिक तहमा अध्ययनरत छन् । विद्यालयमा आउँदो शैक्षिक सत्रबाट थप ४५ जना नयाँ बालबालिकाहरु नर्सरीमा भर्ना भइसकेको विद्यालयले जनाएको छ ।
