कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर ।

जिरी (दोलखा) : बागमती प्रदेश सरकार, वन तथा वातावरण मन्त्री भरत बहादुर केसीले नेपाल विश्वव्यापी जलवायु परिवर्तनको मारमा परेको बताएका छन् । ‘जलवायु परिवर्तन र यसको प्रभाव’ विषयक सञ्चारकर्मी क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायू परिवर्तन गर्न बागमती प्रदेशले धेरै काम अगाडि बढाएको बताएका हुन् । उनले आफूले वन मन्त्रालयको जिम्मेवारी लिएपछि योजनाबद्धरुपमा काम गरेको बताए ।

उनले पहिले ज्यान मुद्दा लागोस् तर वन मुद्दा नलागोस् भन्ने भाष्यलाई हटाएर जनमैत्री कानुन निर्माणमा लागेको बनाए । उनले सालको काठ कटानको उदाहरण दिँदै ऐन संशोधन गरे परिवर्तन गर्न लागेको बताए । उनले बागमती प्रदेशभित्र धेरै सामुदायिक वन रहेको उल्लेख गर्दै सामुदायिक वनलाई चलायमान बनाउन अधिवेशन गर्न कार्ययोजना निर्माणलाई अगाडि बढाउन लागि परेको बताए । उनले भने, ‘विगतमा सामुदायिक वन संरक्षण गरे रुख बढाएकाले अब रुख कुहिएर खेर जान नदिने र वनमार्फत आयआर्जन गर्नका लागि योजना र कानुन बनाएर अगाडि बढ्ने सोचिरहेका छौं ।’

कार्यक्रममा बागमती प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालयका सचिव डा. केदार बरालले जलवायु परिवर्तनसम्बन्धी नीतिगत तथा व्यवहारिक पक्षबारे विस्तृत प्रस्तुति दिँदै जलवायु परिवर्तनसँग सम्बन्धित विद्यमान ऐन तथा नियमन, प्रदेश सरकारले अघि बढाइरहेका जलवायु अनुकूलनका कार्यक्रमहरूको अवस्थाबारे पनि प्रकाश पारेका थिए । बरालले चालु आर्थिक वर्षका नीति तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्था समग्रमा सन्तोषजनक रहेको बताउँदै तिनले जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सकारात्मक योगदान पु¥याइरहेको बताए । जलवायु परिवर्तनका प्रमुख कारणहरूमध्ये वन डढेलो एक महत्वपूर्ण कारणको रूपमा रहेको उल्लेख गरे ।

जलवायु परिवर्तन र यसको असरबारे सञ्चारकर्मीको क्षमता अभिवृद्धि कार्यक्रम बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालय तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको संयुक्त आयोजनामा ‘जलवायु परिवर्तन र यसको प्रभाव’ विषयक सञ्चारकर्मी क्षमता अभिवृद्धि कार्यक्रम दोलखा जिल्लाको जिरीमा सुरु भएको छ । जलवायु परिवर्तन जस्तो संवेदनशील र विश्वव्यापी चुनौतीबारे सही सूचना प्रवाहमा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार र शनिबार दुई दिन सञ्चालन हुने कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाका ४० जना सञ्चारकर्मीको सहभागिता रहेको छ । कार्यक्रममा जलवायु परिवर्तनका कारण, प्रभाव, जोखिम न्यूनीकरणका उपाय तथा सञ्चारमाध्यमले खेल्न सक्ने भूमिकाबारे विस्तृत छलफल र प्रशिक्षण प्रदान गरिने छ ।

कार्यक्रमको पहिलो दिन वन तथा वातावरण मन्त्रालयका सचिव डा. केदार बराल, वरिष्ठ सञ्चारकर्मी सुदर्शन खतिवडा तथा भोला खतिवडाले प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरूले जलवायु परिवर्तनका समसामयिक विषय, स्थानीय स्तरमा देखिएका असरहरू र त्यसको प्रभावकारी सञ्चारका विधिबारे आफ्ना अनुभव र ज्ञान सहभागीहरूसँग सेयर गरेको थिए । सञ्चारकर्मीलाई तथ्यपरक, जिम्मेवार र प्रभावकारी ढंगले जलवायुसम्बन्धी सामग्री प्रस्तुत गर्न सक्षम बनाउने अपेक्षासहित क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले बताए । विश्वकै चुनौतीको रुपमा रहेको जलवायु परिवर्तन नेपालको पनि सार्वजनिक विषय भएको उनले बताए । उनले बागमती प्रदेशभित्र जलवायु परिवर्तनका असरबारे विषय उठान गर्ने बताए । उनले वन मन्त्रालयले थप यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए । कार्यक्रम शनिबार जिरी घोषणापत्र सार्वजनिक गर्दै समापन हुनेछ ।