
हेटौँडा : १० औं संस्करणको सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार प्रतियोगिताको उद्घाटन खेलमा चितवनको हार्दिक युवा समाजलाई पराजित गर्दै हेटौँडा फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौँडा फुटबल एकेडेमीले हार्दिक युवा समाजलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुबै टोली गोलरहित बराबरीमा खेल्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । उत्कृष्ट प्रदर्शन गरेका हेटौँडा फुटबल एकेडेमीका गोलरक्षक अस्मिर गोङ्गबा म्यान अफ द म्याच घोषित भए । उनले ३ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गरे ।
हेटौँडा फुटबल एकेडेमीले सेमिफाइनलमा बैशाख १ गते रुपन्देहीको देवदह ब्वाइज र पर्साको वीरगञ्ज युनाइटेडबिचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । नवलपुर (बर्दघाट सुस्तापूर्व) को बर्दघाट–१६ स्थित सूर्यनगरको श्री नवयुवा क्लबको आयोजना तथा बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सञ्चालित यस अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा हेटौँडा एकेडेमी सहित ८ वटा टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता बैशाख ४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको उपाधि विजेता टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता टोलीले ३ लाख ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीका लागि पनि पुरस्कार व्यवस्था गरिएको छ ।