हेटौँडा : बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गर्ने तयारी गरेको छ । शुक्रबार बसेको भाडा निर्धारण तथा समायोजन समितिको बैठकले प्रदेशको उपत्यका सहितका जिल्लाहरुमा सञ्चालन हुने सवारी साधनको भाडादर करिब २६ प्रतिशतसम्म वृद्धि गर्न सिफारिस गरेको हो ।

सिफारिस समितिको निर्णयअनुसार काठमाडौं उपत्यकामा यात्रुवाहक सार्वजनिक सवारीको साविकको भाडादरमा २५ दशमलब ९६ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका महाशाखा प्रमुख प्रवीण श्रेष्ठका अनुसार ‘प्रदेश भाडा निर्धारण÷समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली २०७८’ को नियम ४ को उपनियम (१) बमोजिम गठित समितिले नयाँ भाडादर निर्धारण गरी सिफारिस गरेको हो । नियम ४ बमोजिम गठित उक्त समितिमा भौतिक पूर्वाधार विकास मन्त्रालयका महाशाखा प्रमुख संयोजक रहने व्यवस्था छ भने मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला, आर्थिक मामिला मन्त्रालयका प्रतिनिधि र यातायात व्यवस्था कार्यालयका प्रमुखहरु सदस्य रहने व्यवस्था रहेको छ ।

समितिको निर्णयअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सवारी साधनको भाडा साविकको भाडादरमा २५ दशमलब ९६ प्रतिशतले वृद्धि गर्न सिफारिस गरिएको महाशाखा प्रमुख श्रेष्ठले बताउनुभयो । उपत्यका बाहिर यात्रुवाहक सवारी साधनको हकमा १७ दशमलब ३५ प्रतिशत भाडा बढाउने निर्णय भएको उहाँले बताउनुभयो । ट्याक्सीको भाडादरमा १२ दशमलब ३९ प्रतिशत वृद्धि गर्ने र मालवाहक सवारी साधनमा २६ दशमलब ७९ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

महाशाखा प्रमुख श्रेष्ठका अनुुसार विद्युतीय सवारी साधनको हकमा भाडादर यथावत राखिएको छ । विद्युतीय सवारी साधनको हकमा भने २०७९ मा नै भाडादर निर्धारण भइसकेकाले हाललाई कुनै फेरबदल नगर्ने समितिले निर्णय गरेको छ । उहाँका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण भाडा समायोजनको सिफारिस गरिएको हो ।

वृद्धि गर्न सिफारिस भएको भाडादर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहमतिका लागि पठाएको उहाँले बताउनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट स्वीकृत भएपछि उक्त निर्णयलाई प्रदेश राजपत्रमा प्रकाशन गरिने र राजपत्रमा सूचना प्रकाशित भएलगत्तै नयाँ भाडादर आधिकारिक रुपमा लागू हुने उहाँले बताउनुभयो ।