पिप्ले युवा क्लबको अग्रसरतामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ पिप्लेमा बहुउपयोगी कभर्डहल निर्माण भइरहेको छ । क्लबको पहलमा बहुउपयोगी कभर्ड हल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । कभर्डहल निर्माणको योजना, निर्माणका क्रममा भएका प्रयासका सन्दर्भमा समाज संवाददाता संगी लामाले कभर्ड हल निर्माणका अगुवा पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेसँग गर्नुभएको कुराकानीः
समाजः कभर्डहल निर्माण कार्यक्रम कुन चरणमा पुगेको छ ?
घिमिरेः यो कभर्डहल निर्माणको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । लगभग यो अन्तिम चरणमा आइपुगेको छ । यसमा हाम्रो ९० प्रतिशत कार्य सकिएको छ । रंगरोगनको काम, विजुली वाइरिङ्को काम लगायतका १० प्रतिशत कामहरु बाँकी रहेको छ ।
समाजः कभर्डहल निर्माणमा कस्तो परिकल्पना गर्नुभएको थियो ? त्यो अनुसार काम भयो या भएन ?
घिमिरेः कभर्डहल सानो बनाउने योजना रहेको थियो सबैतिरबाट सहयोग जुटेपछि राम्रो, ठूलो र बहुउपयोगी कभर्डहल निर्माण भएको छ । हामीले सोँचेको भन्दा धेरै राम्रो कभर्डहल निर्माण भएको छ । यसले गर्दा धेरै खुसी लागेको छ ।
समाजः अहिले जुन खालको सहयोग आएको छ । यस्तो सहयोगको अपेक्षा गर्नुभएको थियो ?
घिमिरेः यति धेरै अपेक्षा हामीले गरेका थिएनौं । अहिले सहयोग आएअनुसार अझै ठूलो कभर्डहल बनाउनु पथ्र्यो भन्ने लागेको छ ।
समाजः यो कभर्डहल निर्माणको उद्देश्य के हो ?
घिमिरेः कभर्डहलको लक्ष्य हाम्रो मकवानपुर जिल्लाबाट राम्रो खेलाडी उत्पादन गर्ने रहेको छ । मुख्य लक्ष्य हाम्रो बक्सिङ्लाई हो । यसलाई हामी राम्रो व्यवस्थापन गरेर समाजको नाम राख्दै देशकै नाम राख्ने, राम्रो, दक्ष खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य रहेको छ ।
समाजः कभर्डहल निर्माण गर्दै जाँदा कति सहयोग, कति खर्च लगायतका कुराहरुको पारदर्शिता कसरी सार्वजनिक गर्ने योजना रहेको छ ?
घिमिरेः जति हामीलाई सहयोग उपलब्ध भएको छ त्यसको दैनिक रुपमानै सूचना दिइरहेका छौं । यसमा जसले पनि हेर्न सक्नु हुनेछ । हामी यसको निर्माण कार्य सकिएपछि उद्घाटनको समयमा सबै आम्दानी खर्चको हिसाब प्रस्ट देखाउने योजनामा छौं ।