हेटौंडा : फागुन २१ गते सम्पन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा मकवानपुरका भाग लिएका सबै उम्मेदवारहरुले निर्वाचन खर्च बिवरण निर्वाचन कार्यालय समक्ष बुझाएका छन् । मकवानपुरका दुवै निर्वाचन क्षेत्रका ४४ जना उम्मेदवारहरु सबैले समयसिमाभित्रै आ–आफ्ना चुनावी खर्च विवरण बुझाएका हुन् । जिल्लाका ४४ जना उम्मेदवारहरुले कुल २ करोड ७ लाख ५६ हजार रुपैयाँ चुनावी खर्च गरेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।

मकवानपुरको निर्वाचन क्षेत्र नं. १ मा ८ जना स्वतन्त्र सहित २३ जना उम्मेदवारहरु निर्वाचनमा सामेल भएका थिए । निर्वाचन क्षेत्र नं १ बाट सबैभन्दा बढी खर्च नेपाली काँग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिना ले ३१ लाख ६४ हजार खर्च भएको विवरण बुझाएकी छिन् । निर्वाचनमा बिजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतमले १० लाख ८६ हजार ८ सय रुपैयाँ खर्च प्रस्तुत गर्नुभएको छ । यस्तै नेकपा एमालेका रामेश्वर राना मगरले १५ लाख ८८ हजार रुपैयाँ , नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिजय गौतमले २१ लाख ८९ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिँहले ७ लाख ५६ हजार , श्रम सँस्कृति पार्टीकी उम्मेदवार बिद्या श्रेष्ठ महर्जनले १ लाख ५६ हजार, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १ लाख ४९ हजार, प्रगतिशिल लोकतान्त्रिक पाटीृका तेज प्रसाद उप्रेतीले १ लाख ४५ हजार, मंगोल नेशनल अर्गनाइजेशनका युवराज लामाले १ लाख ४३ हजार तथा स्वतन्त्र उम्मेदवार अमिक परियारले १ लाख ४३ हजार खर्च विवरण देखाएका छन् ।

यि बाहेक ५० हजार माथि १ लाख सम्म खर्च गर्ने उम्मेदवारहरु ३ जना रहेका छन् । जसमध्ये स्वतन्त्र उम्मेदवारहरु प्रमिला कुमारी खतिवडा, राजकुमार खड्का र जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रुपक लामा रहेका छन् । लामाले ५९ हजार रुपैयाँ खर्च भएको जनाएका छन् । यि बाहेक स्वतन्त्र उम्मेदवारहरु राकेश कुमार शर्मा, टिका प्रसाद चौलागाई, मठु पुलामी, राजाराम बोगटी, ज्ञानसागर लामा र अमर दंगाल सहित नेकपा माओवादीका उम्मेदवार महेश नेपाली, जसपाका दिपक सिन्तानले ५० हजार भन्दा कम खर्च गरेको विवरणबाट देखिन्छ ।

यस्तै निर्वाचन क्षेत्र नं २ बाट २१ जनाले उम्मेदवारी दिएकोमा सबैभन्दा बढी खर्च नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले देखाउनुभएको छ । उहाँले निर्वाचनमा ३१ लाख ७१ हजार रुपैयाँ खर्च भएको विवरण पेश गर्नुभएको छ । यस्तै निर्वाचनका बिजयी प्रशान्त उप्रेतीले २७ लाख ९८ हजार खर्च भएको जनाउनुभएको छ । निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका लबशेर बिष्टले १९ लाख ९८ हजार , नेपाली काँग्रेसका बुद्ध लामाले १४ लाख ६२ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीका राम बहादुर थोकरले ३ लाख ८७ हजार, संयुत्तः नागरिक पार्टीका शुभराज प्रजाले ३ लाख ८२ हजार , प्रगतिशिल लोकतान्त्रिक पार्टीका सन्तोष बिष्टले ३ लाख ३ हजार, श्रम संस्कृति पार्टीका युनेश लामाले १ लाख १५ हजार, मंगोल नेशनल अर्गनाइजेसनका हिरालाल स्याङतानले १ लाख ५६ हजार, उज्यालो नेपाल पार्टीका प्रबिन कुमार स्याङतानले १ लाख ३३ हजार र स्वतन्त्र उम्मेदवार सिता माया बलले १ लाख ६ हजार खर्च विवरण निर्वाचन कार्यालय मा पेश गरेका छन् ।

यस्तै नेशनल रिपब्लिक नेपालका सुर्य तामाङले ५८ हजार रुपैयाँ खर्च गरेका छन् भने बाँकी उम्मेदवारहरुले ५० हजार भन्दा कम खर्च गरेको देखिन्छ । ५० हजार भन्दा कम खर्च गर्नेहरुमा स्वतन्त्र उम्मेदवारहरु कृष्णराम श्रेष्ठ, प्रतिक्षा बानियाँ, अमृत बल रहेका छन् । यस्तै राष्ट्रिय जनमोर्चा नेपालका निर बहादुर सिन्तान, जनता समाजवादी पार्टीका छबिलाल वाइबा, नेकपा एमालेमा रमेश आचार्य, आम जनता पाटीृका सुर्य राइ, नेकपा माओवादीका राम घलान रहेका छन् । सबै दल तथा स्वतन्त्र उम्मेदवारहरुले खर्च बिबरण बुझाएपनि नेपाल मजदुर किसान पाटीका दुवै क्षेत्रका उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाएका छैनन् । सो पार्टीको बिधान अनुसार उम्मेदवारहरुले आफैंले छुट्टै चुनावी खर्च गर्न नपाउने र चुनावी खर्च पार्टीको केन्द्रले निर्णय गरि गर्ने हुनाले निर्वाचन आयोगलाई नै बुझाउने गरेको निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी हरि प्रसाद ढकालले जानकारी दिनुभयो ।