हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेशन ड्रप’ अन्तर्गत ६ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार प्रहरीले हेटौँडा उपमहानगरपालिका तथा आसपासका क्षेत्रबाट केहीबाट लागूऔषध गाँजाको धुलो, ट्रामाडोल तथा हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको छ भने केही लागूऔषध सेवनकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेहरूमा हेटौँडा–१ चौकीटोलका २५ वर्षीय नवीन बागदास र २३ वर्षीय रोशन सेवा रहेका छन् । प्रहरीले उनिहरुको साथबाट एक सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । त्यस्तै हेटौँडा–११ थानाभ¥याङका २८ वर्षीय राम थिङको साथबाट लागूऔषध ट्रमाडोल बरामद भएको छ भने हेटौँडा–१५ फायरलाइनका ३५ वर्षीय डम्बर बहादुर थापाको साथबाट लागूऔषध खैरोहेरोइन बरामद गरेको प्रहरीले जानकारी दिएको छ । लागूऔषध सेवन कर्ता ३४ वर्षीय सहदेव भोेलन र ३१ वर्षीय क्षितिज थिङलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै मंगलबार प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ८ जना तथा लागूऔषध सेवन गर्ने १२ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











