हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकामा एक साताको अवधिमा वन्यजन्तुको आक्रमणबाट २५ वटा बाख्राको मृत्यु भएको छ । गत हप्ता कैलाश–४, हात्तीपाइले क्षेत्रमा १३ वटा र लिक्चे क्षेत्रको जंगलमा १२ वटा बाख्रा मरेका छन् । स्थानीयले बाघले बाख्रा खाएको दावी गरेका छन् ।

डिभिजन वन कार्यालय राप्ति, मनहरीका वन अधिकृत हेमबहादुर थापाका अनुसार स्थानीय जंगलभित्र चरनका लागि छाडेका बाख्राहरुलाई वन्यजन्तुले मारेको हो । घटानस्थलमा कसैले पनि आक्रमण गर्ने वन्यजन्तु नदेखिए पनि घटना प्रकृति हेर्दा बाघले मारेको अनुमान गरिएको उहाँले बताउनुभयो । जंगल क्षेत्रमा एक्लै नजान तथा रातीको समयमा विशेष सतर्कता अपनाउन वन प्रशासनले आग्रह गरेको छ । जंगली जनावरको आक्रमणबाट जंगलबाहिर घटना भएमा ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८०’ बमोजिम पीडित पक्षलाई क्षतिपूर्ति दिने व्यवस्था भएपनि यो घटना जंगल क्षेत्रभित्र भएकाले पीडितहरुले क्षतिपूर्ति नपाउने अधिकृत थापाले बताउनुभयो ।