पत्रकार सम्मेलनको क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : आठौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता बैशाखको तेस्रो सातादेखि सुरु हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आउँदो बैशाख १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ ।

मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर आयोजकले प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतियोगितामा ‘ए’ डिभिजन फुटबल क्लबहरुको सहभागिता रहनेछ । प्रतियोगिता बागमती–४, झुरझुरेस्थित सहित स्मृति रङ्गशालामा सञ्चालन हुनेछ । ललितपुरको चर्च ब्वाइज युनाइटेड क्लब र फ्रेन्ड्स क्लब, काठमाडौंको मछिन्द्र क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र प्लानिङ्ग फुटबल क्लब, सर्लाहीको बागमती युथ क्लब, बाराको जीतपुर सिमरा क्लब, मलेसियाको पेनाङ्ग फुटबल क्लब र एउटा आयोजक टिम गरी १० टोलीले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रतियोगिताको उपाधि विजेता टोलीले १० लाख र उपविजेता टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीका लागि २५÷२५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । म्यान अफ द म्याच हुने खेलाडीका लागि पनि १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था रहेको छ ।

प्रतियोगिता सञ्चालनमा कुल ७७ लाख ७३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा बागतमी गाउँपालिकाले प्रतियोगिताका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रतियोगिता सञ्चालनका लागि आवश्यक रकम प्रवेश शुल्क टिकटबाट ९ लाख ५० हजार, विभिन्न स्थानीय तहहरुबाट ८ लाख र उद्योगी, व्यवसायी तथा संघ, संस्थाहरुबाट १० लाख २३ हजार रुपैयाँ संकलन हुने आयोजकले अनुमान गरेको छ । गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष सर्केश घलान, बकैया–४ का वडाध्यक्ष दन्तलाल माझी, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको उपस्थिति रहेको थियो ।