Home मुख्य समाचार कक्षा–८ मा कैलाश गाउँपालिकाका ५० प्रतिशत विद्यार्थी ग्रेडेड

कक्षा–८ मा कैलाश गाउँपालिकाका ५० प्रतिशत विद्यार्थी ग्रेडेड

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा–८ को वार्षिक परीक्षाको नतीजा सार्वजनिक गरेको छ । गत शुक्रबार प्रकाशन गरेको नतिजामा ५० प्रतिशत मात्रै विद्यार्थी ग्रेडेड भएको पालिकाका शिक्षा शाखाका समीर जोशीले जानकारी दिनुभयो । चैत ८ गतेदेखि १६ गतेसम्म भएको परीक्षामा पालिकाका १० वटा विद्यालयका ३ सय १५ जना विद्यार्थी सहभागी थिए ।

परीक्षामा सहभागी मध्ये एक सय ५९ जना (५० प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् । पालिकास्तरीय परीक्षामा शक्तिशाली आधारभूत विद्यालयको नतीजा शतप्रतिशत आएको छ । परीक्षामा १४ जना सहभागी भएका थिए । पालिकाका १० विद्यालय मध्ये कालिका माध्यमिक विद्यालयको नतीजा सबैभन्दा कमजोर देखिएको छ । कालिका माध्यमिक विद्यालयबाट कक्षा–८ को परीक्षामा ७२ जना विद्यार्थी सहभागी भएकोमा १८ जना मात्रै ग्रेडेड भएका छन् ।

यस्तै श्री आधारभूत विद्यालय डाँडाखर्कबाट १६ जना सहभागी भएकोमा ११ जना, कमलादेवी आधारभूत विद्यालयबाट १८ जनामा १५ जना, भवानी माध्यामिक विद्यालयमा ५५ जनामा ४२ जना ग्रेडेड भएका छन् । यस्तै श्रीकृष्ण आधारभूत विद्यालयबाट १९ जना मध्ये १७ जना, ब्यास माध्यामिक विद्यालयमा ४१ जना मध्ये ९ जना, धुवाङ माध्यामिक विद्यालयमा १४ जना मध्ये ९ जना र रत्नज्योति माविमा ४९ जनामा १३ ग्रेडेड भएका छन् ।