हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान संघीय सरकार संघीयताप्रति पूर्ण प्रतिवद्ध रहेको र प्रदेशले पाउनुपर्ने संवैधानिक अधिकारहरु अब छिट्टै प्राप्त हुने बताएका छन् । प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै आज उनले संघीय सरकार र प्रधानमन्त्रीको सकारात्मक सोचका कारण प्रदेश सरकार अब अधिकार सम्पन्न हुने विश्वास व्यक्त गरे ।
मंगलबारदेखि सुरु भएको बागमती प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले संविधानले प्रदत्त गरेका तर अहिलेसम्म प्रदेशले पूर्ण रुपमा प्रयोग गर्न नपाएका अधिकारहरु अब ‘फास्ट ट्र्याक’ मा प्राप्त हुने अपेक्ष व्यक्त गरे । मुख्यमन्त्री बानियाँले वर्तमान प्रधानमन्त्री आफैँले विगतमा स्थानीय तह (मेयर) को नेतृत्व गर्दा प्रशासनिक झमेला र अधिकारको अभाव भोग्नुभएको स्मरण गर्दै उहाँले प्रदेशको पीडालाई नजिकबाट बुझ्ने बताए ।
‘संघीयता र समावेशी व्यवस्थाको स्थायित्वका लागि वर्तमान संघीय सरकार प्रतिबद्ध छ । हिजोका विभिन्न आन्दोलन र उतारचढावपछि बनेको यो सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेकाले अब प्रदेशका अधिकारहरु केन्द्रमा रोकिने छैनन् ।’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले हिजो मेयर हुँदा भोग्नुभएको अप्ठ्यारो र विडम्बना हामीले सुनेका छौँ । त्यसैले उहाँले अहिलेको संघीयताको मर्म र सातवटै प्रदेशले भोगिरहेको कर्मचारी तथा प्रशासनिक समस्यालाई बुझेर छिट्टै समाधान गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।’
मुख्यमन्त्री बानियाँले संघीय सरकारले प्रदेशका प्रमुख सचिव र सचिवहरुको पदस्थापन गर्दा कम्तीमा दुई वर्षको कार्यकाल सुनिश्चित गरिदिने र प्रदेश सरकारसँग समन्वय गर्न आग्रह गरे । समन्वय, सहकार्य र सह–अस्तित्व नै गणतन्त्रको मर्म भएकाले हामीले संघीय सरकारसँग काँधमा काँध मिलाएर संघीयतालाई बलियो बनाउन र जनताका आकाक्षा पूरा गर्न तयार हुनुपर्ने उनले बताए । वर्तमान सरकार भ्रष्ट्राचारमुक्त र जनमुखी काम गर्न दृढ संकल्पित रहेको बताउँदै संघीय सरकारको सहयोगमा प्रदेशको विकास र अधिकार प्राप्तिको यात्राले अब गति लिने मुख्यमन्त्री बानियाँले बताए ।











