नवनिर्वाचित अध्यक्ष वेदबहादुर श्रेष्ठ ।

हेटौँडा : नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अध्यक्षमा वेदबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । मंगलबार हेटौँडामा भएको निर्वाचनमा दुर्गा राज श्रेष्ठलाई पराजित गर्दै वेदबहादुर अध्यक्ष निर्वाचित हुनुभएको हो । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वेदबहादुरले ६१ दशमलव ०५ प्रतिशत मत प्राप्त गरी निर्वाचित हुँदा दुर्गा राजले ३८ दशमलव ९५ प्रतिशत मत प्राप्त गर्नुभयो ।

सोमबार महासंघको नवौं प्रदेश सभा तथा तेस्रो अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । अधिवेशनबाट तेस्रो अध्यक्षको रुपमा वेदबहादुर निर्वाचित हुनुभएको हो । यसअघि संस्थापक अध्यक्ष दिनेश श्रेष्ठ हुनुहुन्थ्यो भने दोस्रो कार्यकालको अध्यक्ष दिलसुन्दर श्रेष्ठ हुनुहुन्थ्यो । मंगलबार भएको निर्वाचनमा वस्तुगत, एसोसिएट र जिल्ला/नगर गरी २ सय १७ मत खसेको थियो । उपाध्यक्षतर्फ जिल्ला/नगरमा मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णकुमार गुप्ता विजयी हुनुभयो । गुप्ताले थाहा नगरका कविराज खत्रीलाई पराजित गर्नुभएको हो । जिल्ला/नगरतर्फ ३१ मत खस्दा गुप्ताले २१ मत प्राप्त गर्नुभयो भने खत्रीले १० मत प्राप्त गर्नुभयो । एसोसिएट उपाध्यक्षतर्फ कृष्णभक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभयो । वस्तुगत उपाध्यक्षतर्फ प्रेमहरि मैनाली १४ मतसहित निर्वाचित हुँदा अर्का आकांक्षी राजकुमार दाहाल (६ मत) पराजित हुनुभयो । कोषाध्यक्षमा धादिङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रुद्रबहादुर खत्री ९७ मतसहित विजयी हुँदा जीवनकाजी माकजु श्रेष्ठ ६६ मतसहित पराजित हुनुभयो ।

कार्यकारिणी सदस्यमा जिल्ला/नगरतर्फ कृष्णमुरारी न्यौपाने (भक्तपुर), जयप्रकाश श्रेष्ठ (रामेछाप), राजकुमार कँडेल (चितवन), राजन कार्की (काभ्रेपलाञ्चोक) र सनत थापा (दोलखा) सर्वसम्मत निर्वाचित हुनुभयो । एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा उत्तम शर्मा ढकाल (मकवानपुर) र नविन्द्र देव सिं निर्वाचित हुनुभयो भने कार्यकारिणी सदस्यमै वस्तुगततर्फ ज्योतिरत्न बज्राचार्य (मकवानपुर) र सदिश श्रेष्ठ निर्वाचित हुनुभएको छ ।