Home मुख्य समाचार बागमती प्रदेश सरकार : २ मन्त्रालयमा सचिवको जिम्मेवारी तोक्ने निर्णय

बागमती प्रदेश सरकार : २ मन्त्रालयमा सचिवको जिम्मेवारी तोक्ने निर्णय

मन्त्रिपरिषद् बैठकको क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : बागमती प्रदेश सरकारले प्रदेश मातहतका २ जना कर्मचारीलाई मन्त्रालयको सचिवको जिम्मेवारी तोकेको छ । प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ११ औं तह (सचिव) स्तरका एक र उपसचिव स्तरका एक कर्मचारीलाई मन्त्रालयको सचिवको जिम्मेवारी तोकेको हो ।

बैठकले रिक्त रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कृषि तालिम केन्द्रका निर्देशक सुधिर श्रेष्ठलाई सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको हो । उक्त मन्त्रालयमा कार्यरत बैकुण्ठ अधिकारीले पदबाट राजीनामा दिएपछि सो रिक्त पदमा प्रदेश मातहतका श्रेष्ठलाई बरिष्ठतम आधारमा मन्त्रालयको सचिवको जिम्मेवारी तोकेको हो । बैठकले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवमा नुमानन्द अधिकारीलाई निमित्त सचिवको जिम्मेवारी तोकेको हो । उपसचिव स्तर (९ औं तह) का अधिकारी सोही मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको रुपमा कार्यरत थिए । बैठकले मन्त्रालयमा कार्यरत कर्मचारीलाई बरिष्ठतमका आधारमा निमित्त जिम्मेवारी तोक्ने निर्णय गरेसंगै अधिकारीलाई जिम्मेवारी दिइएको हो ।

बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित संघीय सरकार र सरकारका मन्त्रीहरुलाई बधाई ज्ञापन गरेको छ भने फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका प्रतिनिधि सभा सदस्यहरुलाई बधाई तथा कार्यकालको सफलताको कामना व्यक्त गरेको छ । आम जनताको आशा, परिवर्तनको आकांक्षा, सुशासनयुक्त र भ्रष्टाचारमुक्त सेवा प्रवाह तथा विकास र समृद्धिको चाहनालाई व्यवहारमा रुपान्तरण गर्न लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, पारदर्शिता र जवाफदेहिताको कडाइका साथ कार्यान्वयन गर्न बैठकले आग्रह गरेको छ ।

समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तमा आधारित संघीय प्रणालीमा संविधान प्रदत्त तहगत सरकारहरुको भूमिकालाई सम्मान गर्दै संघीय सरकारले नेतृत्वदायी भूमिका खेल्नेमा बागमती प्रदेश सरकार विश्वस्त रहेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए । बैठकले फागुन २१ गतेको आम निर्वाचनमा सहभागी हुने आम मतदाता, सुरक्षाकर्मी र निर्वाचनको क्रममा खटिएका कर्मचारी तथा पत्रकार लगायतलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत ११औं तहको गौरीमान श्रेष्ठको अनिवार्य अवकाशको निर्णय पारित गरेको छ ।

बैठकले प्रदेश निजामती सेवा नियमावली २०८२ स्वीकृत गर्ने सम्बन्धमा प्रस्ताव पारित गर्ने निर्णय गरेको छ भने इन्जिनियर सेवामा कार्यरत राजु श्रेष्ठलाई ११औं तहमा बढुवा गरी भौतिक पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ । यातायात पूर्वाधार निर्देशनालय हेटौँडामा कार्यरत नविन सिंहलाई भौतिक पूर्वाधार मन्त्रालयमा पदमिलान गर्ने निर्णय गरेको प्रवक्ता तामाङले बताए । उनका अनुसार बैठकले संघीय समपूरक र विशेष अनुदान तथा राष्ट्रिय योजना आयोगमा माग गरिएका आयोजना र कार्यक्रमहरुको अनुमोदन गर्ने निर्णय गरेको छ भने बागमती प्रदेश विज्ञापन नियमन गर्ने निर्देशिका २०८२ स्वीकृत गरेको छ ।

बैठकले २०८३ सालको सार्वजनिक बिदा घोषणा गर्ने निर्णय भएको छ । जसअनुसार प्रदेश सरकारको तर्फबाट ६ वटा विदा थप हुने छन् । बैठकले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम (परीक्षण, निदान, परामर्श र उपचार) व्यवस्थापन पहिलो संशोधन कार्यविधि २०८२ स्वीकृत गरेको छ भने दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालन सम्बन्धी पहिलो संशोधन कार्यविधि २०८२ स्वीकृत गरेको छ । बागमती प्रदेश विश्वविद्यालय’ पहिलो संशोधन २०८२ स्वीकृत गर्ने बैठकले निणैृय गरेको छ भने बागमती प्रदेश जग्गा विकासका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गर्ने, बहुवर्षीय ठेक्का मापदण्ड २०८२ लाई संशोधन गर्ने निर्णय गरेको छ । बैठकले वैदेशिक भ्रमण मनोनयन तथा स्वीकृति गर्ने निर्णय गरेको छ ।

Exit mobile version