हेटौँडा : जारी पुरूष एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बागमती प्रदेशले लज्जास्पद हार व्यहोरेको छ । आइतबार बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशसँग लज्जास्पद हार व्यहोरेको हो ।
आइतबार जनकपुरको रामजानकी क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले बागमतीलाई १६३ रनले पराजित गरेको छ । टस हारेर सुरुमा व्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २१० रनको लक्ष्य दिएको थियो । सुदूरपश्चिम प्रदेश ४२ ओभर १ बलमा २०९ रनमा अलआउट भएको थियो । सुदुरपश्चिमका लागि नारायण जोशीले ७५ रन, दीपक बोहराले ४० रन र अभिषेक पालले ३९ रन बनाए । बागमतीका कप्तान सन्दिप लामिछाने र प्रतिश जिसिले समान ४/४ विकेट लिएका थिए ।
२१० रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ४६ रन बनाउँदा अलआउट भयो । बागमती प्रदेश ११ ओभर २ बलमा ४६ रनमा अलआउट भएको हो । बागमतीका शुभ कंसाकारले ३२ रन र प्रतिश जिसीले ४ रन जोडे । बागमतीका ४ जना व्याटरहरु शून्य रनमा आउट भए । सुदूरपश्चिमका हेमन्त धामीले ७ विकेट र कप्तान शेर मल्लले ३ विकेट लिए । उत्कृष्ट बलिङ गरेका सुदुरपश्चिमका धामी प्लेयर अफ द म्याच घोषित भए ।
यस्तै, लुम्बिनी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लब सामु २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । विरगंजको नारायणी रङ्गशालामा भइरहेको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४९ ओभर ५ बलमा २५६ रनमा अलआउट भएको छ ।











