हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडाको मुख्य सडक १६ मिटर बनाएर राजमार्गलाई वाइपास गर्न सकिने बताउनुभएको छ । शनिबार हेटौँडामा मकवानपुर उद्योग वाणिज्य संघको ५९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले रातोमाटेदेखि राप्ति पुलसम्म बाइपास सडक निर्माण गर्न सकेमा मुख्य सडकलाई १६ मिटर मात्रै विस्तार गर्दा पनि पर्याप्त हुने बताउनुभएको हो ।
यसका लागि बागमती प्रदेश सरकार मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । सडक विस्तारका कारण विस्थापित भएका र आर्थिक मारमा परेका व्यवसायीलाई राहत दिन संविधान संशोधन गरिरहनु नपर्ने भन्दै उहाँले घर भत्किएका व्यापारीहरूको उचित व्यवस्थापन नहुँदासम्म उनीहरूको व्यावसायिक ऋणको व्याज मिनाहाका लागि सरकारसँग आग्रह गर्नुभयो । मुख्यमन्त्री बानियाँले पछिल्लो समय जनताको आशा निराशामा परिणत भइरहेकोमा चिन्ता व्यक्त गर्दै सशस्त्र विद्रोहबाट प्राप्त गणतन्त्र नै नागरिकको शान्ति र समृद्धिको मुख्य आधार भएको दावी गर्नुभयो ।
उहाँले धेरै राजनीतिज्ञहरू पनि व्यवसायमा संलग्न रहेको भन्दै व्यापारमा इमान्दारिता, काँधमा जिम्मेवारी र मस्तिष्कमा समझदारी हुनु अनिवार्य रहेको बताउनुभयो । साथै, निजी सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन उपलब्ध नगराउने विषयमा सरकारले ठोस व्यवस्था गर्नुपर्ने र बागमती प्रदेश सरकारलाई औपचारिक परिपत्र भएमा सहकार्य गर्न आफूहरू तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । संघ, प्रदेश र स्थानीय तीनै तहले संविधानको मर्मअनुसार कार्यशैली अपनाउनुपर्नेमा जोड दिँदै उहाँले जनताको प्रगति र समृद्धिका लागि सधै नयाँ सरकारको साथमा रहने बताउनुभयोे ।
साधारणसभामा संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले आर्थिक वर्ष २०८१/०८२ मा संघले गरेका गतिविधिको जानकारी गराउनुभयो । कार्यालयले योजना कार्यशाला गोष्ठी, तीनदिने नापतौल शिविर र बैंकर्ससँग बैंकिङ समस्या सम्बन्धमा छलफल लगायतका कार्यहरु गरेको अध्यक्ष रानाभाटले जानकारी दिनुभयो । कुल २ हजार २ सय ६५ जना सदस्य रहेको मकवानपुर उद्योग वाणिज्य संघ २०८२ को असार मसान्तसम्म कुल संकलित पुँजी तथा दायित्व ५ करोड १७ लाख ८९ हजार ५ सय ४१ रुपैयाँ रहेको थियो । संघले २०८२ असार मसान्तसम्म प्रत्यक्षतर्फ कुल ८५ लाख ७० हजार रुपैयाँ र अन्य शिर्षकमा १३ लाख १० हजार रुपैयाँ आम्दानी भएको जनाएको छ । यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा संघको प्रत्यक्ष खर्च ८४ लाख १७ हजार रुपैयाँ र कर्मचारी शिर्षकमा कुल ३५ लाख ४० हजार रुपैयाँ खर्च भएको संघ आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, भारती पाठक, प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, संघका पूर्व अध्यक्ष एवम् केन्द्रीय सदस्य कृष्ण कटुवाल, राजकुमार न्यौपाने लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । २०१८ सालमा ‘हेटौँडा व्यापार संघ’ को रुपमा स्थापना भएको यो संस्था ‘मकवानपुर उद्योग व्यापार संघ’ हुँदै २०२५ सालमा ‘मकवानपुर उद्योग वाणिज्य संघ’ नामाकरण भई हाल क्रियाशील रहेको छ ।
