हेटौँडा: मकवानपुरको झरना साहित्यिक परिवारले शिव–साबित्री स्मृति मुक्तक सम्मान कर्णाली प्रदेशका साहित्यकार कर्णबहादुर खत्रीलाई प्रदान गरेको छ । झरना साहित्यिक परिवार मकवानपुरको ३२५औं साहित्य श्रृङ्खलाको अवसरमा शनिबार आयोजित ३२ औं मुक्तक साँझ २०८२ कार्यक्रमबीच खत्रीलाई सम्मान गरिएको हो ।
खत्रीलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको छ । २०५५ सालमा हालको रुकुम पश्चिममा जन्मनुभएका साहित्यकार खत्रीले कक्षा १२ सम्म अध्ययन गर्नुभएको छ । साहित्यको क्षेत्रमा प्रतिभावान मानिने खत्रीले मुक्तक, कविता र गीत लेखनमा कलम चलाउँदै आइरहनुभएको छ । पछिल्लो समय उहाँले गीतहरु प्रस्तुत गनूभएको छ । शनिबार कार्यक्रममा मकवानपुरमा मुक्तक कृतिहरु प्रकाशन गर्नुभएका १३ जना मुक्तककारहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा साहित्यकारहरु पुरुषोत्तम आचार्य, देवराज खरेल, अनिष न्यौपाने (भावना), डिबी बर्तौला, डा. विश्वनाथ सञ्जेल, राम कार्की, बिर्खे अन्जान, दीपक गौतम, किसन पौडेल, राजबाबु पहाडी, दिनेश कुमार शर्मा, एस आर मञ्जरी ओली, सुमी थिङ रहेका छन् ।
यस्तै कार्यक्रममा झरना साहित्यिक परिवारको आयोजनामा भएको कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी रहेको मुक्तक प्रतियोगितामा बकैयास्थित बुद्ध माविकी सुमिना दाहाल सर्वोत्कृष्ट हुन सफल भएकी छिन् । सानु खनाल र भवानी तिमल्सिना निर्णायक रहनुभएको प्रतियोगितामा ७ जनाले मुक्तक प्रस्तुत गरेका थिए । प्रतियोगितामा दाहालका साथै रोशिता भट्टराई, मोनिका नेगी, नम्रता पराजुल,ि रोसिका खनाल, स्नेहा पराजुली, स्वस्तिका माझी समावेश भएका थिए । यसअघि नै प्राप्त मुक्तकरुमध्ये उत्कृष्ट ९ वटा मुक्तकहरु प्रतियोगितामा समावेश गरिएको थियो । लुम्बिनी प्रदेशका साहित्यकार रमेश प्रदर्शनको प्रमुख आतिथ्य तथा झरना साहित्य परिवारकी अध्यक्ष गायत्री रुपाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीलगायत मकवानपुरका साहित्यकार तथा साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो ।











