हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन र धादिङ जिल्लामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–५, कल्याणपुरमा अचेत अवस्थामा फेला परेका वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७३ वर्षीय बलबहादुर अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो २ बजेर ३० मिनेटको समयमा अधिकारी आफ्नै सुत्ने कोठामा अचेत अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएको थियो । चिकित्सकले जाँच गर्ने क्रममा दिउँसो ३ बजेर ५० मिनेटको समयमा मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१, पुलचोकमा बसमा यात्रा गर्दै आएका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको नीलकण्ठ नगरपालिका–५ घर भई हाल छिमेकी देश भारत बस्ने ४६ वर्षीय रामपल रोक्का रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान ४ बजेर २० मिनेटको समयमा रामपल दिल्लीबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०१–००६ ख ७५४६ नम्बरको बसमा सवार थिए । बस पुलचोकमा रोक्ने क्रममा उनी अचेत अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएकोमा बिहान ४ बजेर ५५ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
धादिङको धुनिबेशी नगरपालिका–९, जुगेडिमा बाथरुममा चिप्लिएर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–८ घर भई जुगेडिमा डेरा गरि बस्ने २६ वर्षीय सिम्पल चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार साँझ ७ बजेर १५ मिनेटको समयमा चौधरी बाथरुममा नुहाउने क्रममा अचानक चिप्लिएर लड्दा टाउको र अनुहारमा चोट लागेर घाइते भएका थिए । उनलाई उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको राती ८ बजेर ५५ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । उनी युनाइटेड सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ ।











