हेटौँडा: जारी पुरुष एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । बिहीबार मधेश प्रदेशलाई पराजित गर्दै आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायम राखेको हो ।
बिहीबार जनकपुरको रामजानकी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मी क्लबले मधेश प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । सुरुमा टस हारेर व्याटिङको निम्तो पाएका मधेश प्रदेशले आर्मी क्लबलाई १८५ रनको लक्ष्य दिएको थियो । मधेश प्रदेश ४८ ओभर ३ बलमा १८४ रनमा अलआउट भएको थियो । मधेशका विशाल सुश्लिङले ५१ रन र कप्तान अनिल साहले ४२ रन बनाए । मधेश ओपनर व्याटरहरुले दोहोरो अंकमा पनि रन जोड्न नसक्दा टोली सुरुदेखि दवाव देखिएको थियो । आर्मी क्लबका बसिर अहमदले ३ विकेट, साहव आलम र नरेन साउदले समान २/२ विकेट लिए ।
जवाफी व्याटिङ गरेका आर्मी क्लबले ४ विकेट गुमाएर लक्ष्य भेटाएको हो । आर्मीले २९ ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य भेटाउन सफल भयो । आर्मी क्लबका ओपनर त्रितराज दास ६९ रन बनाएर आउट हुँदा बसिर अहमदले अविजित ४१ रन बनाए । मधेश प्रदेशका आदिल आलमले २ विकेट, पवन सर्राफ र विशाल सुश्लिङ समान १/१ विकेट लिए । प्लेयर अफ द म्याच त्रिभुवन आर्मीका त्रितराज दास घोषित भए ।
यस्तै, बिहीबार भएको अर्को खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । बीरगंजको नारायणी क्रिकेट रङ्गशालामा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई २ विकेटले पराजित गरेको हो । सुरुमा टस जितेर व्याटिङ गरेका गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १९१ रनको लक्ष्य दिएको थियो । गण्डकीको टोली ४९ ओभरमा १९० रनमा अलआउट भएको थियो । गण्डकीका अर्जुन कुमालले ४४ रन, कप्तान विपिन खत्रीले ३० रन र सुवास भण्डारीले २४ रन बनाए । सुदूरपश्चिमका कप्तान शेल मल्लले ५ विकेट लिँदा हेमन्त धामी र अशोक धामीले समान २/२ विकेट लिए ।
जवाफी व्याटिङ गरेका सुदूरपश्चिमले ८ विकेट गुमाएर लक्ष्य भेटाएको हो । सुदुरपश्चिम प्रदेश ३९ ओभर २ बलमा ८ विकेट गुमाएर लक्ष्य भेटाउन सफल भयो । सुदूरपश्चिमका ओपनर अभिषेक पाल सर्वाधिक ६६ रन र दीपक बोहरा ३५ रन बनाएर आउट भए भने नारायण जोशीले अविजित ४५ रन बनाए । गण्डकीका कप्तान विपिन खत्रीले पनि ५ विकेट लिएका थिए । प्लेयर अफ द म्याच सुदूरपश्चिमका शेर मल्ल घोषित भए ।
जारी प्रतियोगितामा बिहीबारको खेल सकिएसँगै अविजित रहँदै ५ खेलबाट ९ अंक जोडेका आर्मी क्लब अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । समान ५ खेलबाट ८ अंक जोडेका सुदूरपश्चिम प्रदेश दोस्रो र ७ अंक जोड्न सफल मधेश प्रदेश चौथो स्थानमा रहेको छ । १० टोली सम्मिलित प्रतियोगितामा ५ खेलबाट अहिलेसम्म ३ अंक मात्रै जोड्न सकेको गण्डकी प्रदेश पुच्छारबाट अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।











