Home मुख्य समाचार ११३ जनामा मोतियाबिन्दु भेटियो

११३ जनामा मोतियाबिन्दु भेटियो

शिविरमा आँखा परीक्षण गरिँदै ।

हेटौँडा: रोटरी क्लब अफ हेटौँडाको आयोजनामा भएको आँखा शिविरमा ११३ जनामा मोतियाबिन्दु भेटिएको छ । बुधबार र बिहीबार रौतहट, बारा, पर्सा र महोत्तरी जिल्लाका विभिन्न स्थानमा आयोजना भएको शिविर ४८५ जनाको आँखा परीक्षण गरिएको थियो । शिविरमा ११३ जनामा मोतियाबिन्दु भेटिएको रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्रमेश प्रधानले जानकारी दिनुभयो ।

बुधबार रौतहटको कटरियामा भएको शिविरमा १२९ जनाको आँखा परीक्षण गरिएकोमा ४९ जनामा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्नेको भेटिएको हो । बिहीबार पर्साको जगरनाथपुरमा ११९ जनाको आँखा परीक्षण गरेकोमा १९ जनामा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने भएको छ । यस्तै बिहिबार नै बाराको कलैयामा २३७ जनाको आँखा परीक्षण गरेकोमा ४५ जनामा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने भएको छ ।

शिविरमा भेटिने मोतियाबिन्दुका बिरामीहरूको शल्यक्रिया हेटौँडा सामुदायिक आँखा अस्पतालमा हुनेछ । शिविर अवधिभर बिरामीहरूलाई खान, बस्न तथा आवतजावतको सम्पूर्ण सुविधा निःशुल्क प्रदान गरिने क्लबका अध्यक्ष प्रधानले जानकारी दिनुभयो । शनिबार महोत्तरी र बर्दिवासमा शिविर आयोजना हुने अध्यक्ष प्रधानले बताउनुभयो ।

स्थानीयस्तरमा नियमित रूपमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको रोटरी क्लब अफ हेटौँडाको पहलले ग्रामीण क्षेत्रका आँखाका बिरामीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको उहाँको भनाई छ । शिविरमा हेटौँडा सामुदायिक आँखा अस्पतालका चिकित्सकहरुले स्वास्थ्य जाँच गर्नेछन् ।

Exit mobile version