जिल्ला हुलाक कार्यालयमा कार्यालय प्रमुखसँग हुलाकमार्फत सेवा प्रवाहसम्बन्धमा छलफल गर्न हुलाक कार्यालय पुग्नु भएका प्रमुख जिल्ला अधिकारी ।

हेटौंडा: जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवाग्राहीलाई घरदैलो सेवा उपलब्ध गराउन हुलाक कार्यालयसँग छलफल गरेको छ । नेपाल सरकारले सय दिनमा गर्ने शासकीय सुधार सम्बन्धी कार्यसूची कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयले जिल्ला हुलाक कार्यालयसँग प्रारम्भिक छलफल गरेको हो ।

कार्यसुचीको बुँदा अन्र्तगत राज्यले सर्वसाधारणलाई घरदैलो सेवा प्रवाह गर्ने बुँदा नम्बर २७ लाई कार्यान्वयन गराउने उद्देश्यले हुलाक कार्यालयसँग समन्वयात्मक छलफल सुरु गरेको हो ।

बिहिबार प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जिल्ला हुलाक कार्यालय मकवानपुरका हुलाक अधिकृत रमेश लामिछानेसँग छलफल गर्दै आगामी दिनमा राज्यले घरदैलो सेवाका लागि हुलाकको अत्याधिक र व्यावसायिक प्रयोग गर्ने बताउनुभयो । उहाँले हुलाक कार्यालयले सुरुमा जिल्ला प्रशासन कार्यालयबाट ५ सय राहदानी सेवाग्राहीको घरमै पुर्याउन जाने प्रणाली व्यवस्थित गर्न लागेको स्पष्ट पार्नुभयो ।

यसका लागि हुलाक कार्यालयको हालको क्षमता तथा आवश्यक जनशक्ति, आवश्यक थप बजेट, श्रोत साधनबारे जानकारी लिँदै अधिकारीले मकवानपुरभित्र रहेका ९१ वटा सरकारी निकायका वितरणसँगै जनतालाई घरदैलो सेवा दिन अघि बढ्ने योजनाबारे छलफल समेत गर्नुभएको छ ।

हुलाक कार्यालयका हुलाक अधिकृत रमेश लामिछानेले हाल श्रोत साधनको कमी तथा सुरक्षा संवेदनशीलताका कारण जिल्लाका अन्य पालिकामा बिना तयारी काम गर्न नसकिने भएपनि हेटौँडा उपमहानगरपालिकाभित्र भने बैशाखको सुरुबाटै घरदैलो सेवा गर्न सकिनेमा प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले हाल कार्यालयमा रहेका कर्मचारीलाई थप क्रियाशील बनाई स्थानीय तहसँग समन्वय गर्न सुझाव दिनुभएको छ ।

हालको गतिलाई वृद्धि गर्दै हेटौँडा उपमहानगर क्षेत्रभित्रका कार्यालयमा एकै दिन र अन्य पालिकामा भोलिपल्टसम्म पुर्याउन यस्तै राहदानीसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लगायतका अन्य सेवा समेत विस्तार गरी घरदैलो सेवामा परिणत गर्ने संघीय सरकारको तयारी रहेकोले हुलाक कार्यालयको क्षमता विकास तथा विस्तार गर्न प्रशासनसँग समन्वय गर्न अनुरोध समेत गर्नुभयो ।

हुलाक कार्यालय मकवानपुरमा हाल ४६ जना कर्मचारीहरु कार्यरत छन् । हाल हुलाक कार्यालयका जिल्लामा ९ वटा पालिका हुलाक, २ वटा हुलाक काउन्टर र एउटा जिल्ला कार्यालय रहेका छन् । हाल कार्यालयले दैनिक सरकारी कार्यालय तथा बैदेशिक पार्सलहरु गरी १ सय चिठ्ठीपत्रहरु वितरण तथा ओसार–पसार गर्दै आएको छ भने विज्ञापन बोर्डको लोक कल्याणकारी विज्ञापन जिल्लाका सञ्चार माध्यमहरुलाई वितरणमा समन्वय समेत गर्दै आइरहेको छ ।