हेटौंडाः मकवानपुर जिल्लाको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकाले निषेधाज्ञालाई खुकुलो बनाउँदै दिनभर बजार खुला राख्ने निर्णय गरेको छ । मंगलबार राती १२ बजेबाट जारी निषेधाज्ञाको समय समाप्त भएसँगै नगरपालिकाले निषेधाज्ञालाई खुकुलो बनाएर दिनभर बजार खोल्ने निर्णय गरेको हो । मंगलबार बसेको नगरपालिकाको बोर्ड बैठकले आगामी एकसाता साँझ ४ बजेसम्म बजार खुला राख्ने निर्णय गरेको थाहा नगरपालिकाका उपमेयर खड्ग गोपालीले जानकारी दिनुभयो ।
स्वास्थ्य सम्बन्धी सतर्कता कायम गरेर बजार खुला राख्ने निर्णय भएको उपमेयर गोपालीले बताउनुभयो । थाहा नगरले बैंक तथा वित्तीय संस्था दिउँसो २ बजेसम्म मात्रै सञ्चालन गर्ने र सार्वजनिक यातायातको रुपमा अटोलाई चल्न दिने निर्णय गरेको उपमेयर खड्ग गोपालीले बताउनुुभयो । थाहा नगरपालिकामा हालसम्म १२ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोना भाइरस सङ्क्रमण पुष्टि हुने सबैजना विदेशबाट आएका नागरिक भएको उपमेयर गोपालीले बताउनुभएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका मध्ये ८ जना कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् भने सङ्क्रमित ४ जना जिल्ला सदरमुकाम हेटौंडास्थित आइसोलेसन वार्डमा उपचाररत रहेको उपमेयर गोपालीले बताउनुभयो ।