हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिकाका आगलागी पीडित एक चेपाङ परिवारका लागि श्रम संस्कृति पार्टीले श्रमदानबाट घर निर्माण कार्य सुरु गरेको छ । राक्सिराङ–३, लावतीकी कान्छिमाया चेपाङको घरमा चैत ४ गते आगलागी हुँदा जलेर नष्ट भएको थियो ।
आगलागी लगत्तै चैत ५ गते पीडित परिवारको अवस्था बुझ्न पुगेको श्रम संस्कृति पार्टीको टोलीले तत्कालका लागि १० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको पार्टीका मकवानपुर जिल्ला अध्यक्ष युनेश लामाले बताउनु भयो । आइतबारदेखि स्थानीय र पार्टी कार्यकर्ताको सहयनेगमा घर निर्माण कार्य अगाडि बढाइएको छ ।
अध्यक्ष लामाका अनुसार घर निर्माणका लागि आवश्यक भौतिक सामग्रीहरू सहयोगीहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको रकमबाट खरिद गरिनेछ भने अन्य जनशक्ति ‘श्रमदान’ मार्फत जुटाइनेछ । श्रम संस्कृति पार्टीको मर्म अनुसार श्रमदानबाट घर बनाउन सुरु गरिएको र उक्त कार्यमा स्थानीयले पनि सहयोग गरिरहेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।
दुई कोठाको जस्ताको छानो भएको पक्की घर निर्माणका लागि कुल २ लाख ५० हजार रुपैयाँ लागत अनुमान गरिएको छ । निर्माण कार्यलाई तीव्रता दिएर यसै महिनाको अन्त्यसम्ममा सम्पन्न गर्ने र नयाँ वर्ष २०८३ अघि नै पीडित परिवारलाई घर हस्तान्तरण गर्ने लक्ष्य रहेको अध्यक्ष लामाले बताउनुभयो ।











