हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय विगत एक वर्षदेखि विद्यालय व्यवस्थापन समितिविहीन बनेको छ । गत वर्ष चैत्र १४ गते नै पुरानो समितिको कार्यकाल सकिए तापनि नयाँ समिति गठन हुन नसक्दा विद्यालय अभिभावकविहीनजस्तै बनेको हो ।
विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णका अनुसार पुरानो समितिको म्याद सकिएलगत्तै चैत्र १५ गते अभिभावक भेला आयोजना गरिएको थियो । उक्त भेलामा नयाँ समितिमा बस्नका लागि ३० जना अभिभावकले इच्छा देखाउँदै नाम दर्ता गराएका थिए । शिक्षा नियमावलीअनुसार अभिभावक भेलाबाट ४ जना समिति सदस्यमात्र चयन गर्ने प्रावधान रहेकाले सहमति जुट्न सकेन । समिति गठनका लागि हालसम्म १६ पटक बैठक आह्वान गरिए तापनि अभिभावकहरूबीच आपसी खिचातानी र असहमति हुँदा प्रक्रिया अन्योलमा परेको प्रधानाध्यापक कर्णले बताउनुभयो ।
यसैबीच विद्यालयले गत माघ महिनामा आफ्नो स्वर्ण जयन्ती मनाएको छ । व्यवस्थापन समिति नभएकै कारण वडा नम्बर २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको संयोजकत्वमा मूल समारोह समिति गठन गरी स्वर्ण जयन्तीका कार्यक्रमहरू सम्पन्न गरिएको थियो । वडा अध्यक्ष महर्जनका अनुसार यसअघि नै निर्वाचन प्रक्रियामार्फत समिति गठन गर्ने तयारी गरिए तापनि स्वर्ण महोत्सवको तयारीका कारण उक्त विषय पछाडि धकेलिएको हो ।
व्यवस्थापन समिति नहुँदा विद्यालयको भौतिक विकासमा समेत असर पर्न थालेको छ । संघीय सरकारबाट विद्यालयको चार कोठे भवन निर्माणका लागि प्राप्त ५५ लाख रुपैयाँको बजेटसमेत अहिले ओझेलमा परेको छ । समिति नहुँदा उक्त बजेट कार्यान्वयन र निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । वडा अध्यक्ष महर्जनले अब नयाँ शैक्षिक सत्र सुरु भएलगत्तै कानुनबमोजिम निर्वाचन प्रक्रियामा गएर भए पनि नयाँ नेतृत्व चयन गर्ने बताउनुभयो ।











