हेटौँडा : उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता’ भन्ने नाराका साथ ६९औं राष्ट्रिय सहकारी दिवस वागमती प्रदेशको राजधानी हेटौँडामा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । मकवानपुरमा राष्ट्रिय सहकारी दिवस मनाउनका लागि मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा जिल्ला सहकारी संघका सञ्चालक समितिका पदाधिकारीहरु, विषयगत सहकारी संघका अध्यक्ष लगायत पदाधिकारीहरु, जिल्ला स्थित सहकारी संस्थाका अध्यक्षहरु रहनेछन् । मूल समारोह समितिको सल्लाहकारमा बागमती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्रालयका निमित्त सचिव उमेश दाहाल, राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्साल रहेका छन् । समितिको आयोजना मकवानपुर जिल्ला सहकारी संघ लगायत जिल्लास्थित विषयगत सहकारी संघहरुको सहकार्य र बागमती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा विभिन्न रचनात्मक कार्यक्रमहरुसहित मनाइने मूल समारोह समितिले जनाएको छ ।

सहकारी दिवसको अवसरमा चैत्र १४ गतेदेखि यसवर्षको नारा सहकारी दिवसको नार ‘उद्यमशिलता र पारदर्शिता ः सहकारीको प्राथमिकता’ सहित सहकारी दिवस सम्बन्धी व्यानर सहकारी संघ संस्थाको कार्यालयमा राख्ने, मूल कार्यक्रम अन्तर्गत बागमती प्रदेशको राजधानी हेटौँडामा चैत्र १८ गते हेटौँडाको बुद्धचोकमा बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम, १९ गते बिहान ७ बजेदेखि हेटौंडाको चौकीटोलमा रहेको हिमालयन दरबारमा ‘सहकारी संरक्षण र सम्वद्र्धनमा अभियान र नियमकीय भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिने समितिले जनाएको छ । अन्तरसंवाद कार्यक्रममा मकवानपुर जिल्लाका विभिन्न सहकारी संघ, संस्थाका करिव २५० जना भन्दा बढी अध्यक्ष, व्यवस्थापकको सहभागिता रहनेछ ।

यस्तै सहकारी दिवस अन्तर्गत चैत्र २० गते बिहान ७ बजे हेटौँडाको हुप्रचौरबाट प्रभातफेरी सुरु गरी हिमालयन दरबारमा सहकारी दिवस समारोह हुनेछ भने साँझ जिल्लाभरका सहकारी संघ, संस्थाको कार्यालय परिसरमा दिपावली गरिने सहकारी दिवस मूल समारोह समितिले जनाएको छ ।