Home मुख्य समाचार बालेन सरकारको १०० बुँदे कार्यसूची, कार्यान्वयन भए मुलुकले फड्को मार्ने

बालेन सरकारको १०० बुँदे कार्यसूची, कार्यान्वयन भए मुलुकले फड्को मार्ने

आतिश कुमार यादव
हेटौँडा : बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधारको कार्यसूचीप्रति मकवानपुरका बौद्धिक, नागरिक समाज र व्यावसायिक क्षेत्रका अगुवाहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनीहरूले यो कार्यसूची केवल कागजमा सीमित नभई व्यवहारमा लागू भए मुलुकमा सुशासनको प्रत्याभूति हुने र आर्थिक समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन् ।

मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्टले सरकारको कार्यसूची तोकिएको समयसीमा भित्रै सम्पन्न भए जनताले वास्तविक परिवर्तन महसुस गर्ने बताउनुभयो । उहाँका अनुसार विगतका सरकारहरूले ठूला भाषण गरे तर काम गर्न नसक्दा जनताले विकल्प खोजे, जसको परिणाम स्वरूप रास्वपाले दुई तिहाइको मत पाएको हो । यो जनमतको कदर गर्दै सरकारले भ्रष्ट्राचारमुक्त समाज निर्माणमा लाग्नुपर्ने उहाँको भनाइ छ । उहाँले दलित समुदायसँग माफी माग्ने विषयलाई भावनात्मक र सकारात्मक कदम भन्दै विभेद अन्त्य गर्न यसलाई व्यवहारमै उतार्नु पर्ने बताउनुभयो । पत्रकारिता क्षेत्रलाई दलीय प्रभावबाट मुक्त राख्दै पत्रकारको वृत्तिविकासमा सरकारले सहयोग गर्नुपर्ने उहाँको धारणा छ ।

त्यस्तै, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले सरकारको कार्यसूचीलाई अहिलेसम्मकै ‘उत्कृष्ट’ कार्यसूचि बताउनु भएको छ । उहाँले महिला र सीमान्तकृत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सरकारले देखाएको तत्परताको प्रशंसा गर्नुभयो । सीता वादी जस्तो सीमान्तकृत समुदायको प्रतिनिधि मन्त्री बन्नु ऐतिहासिक कदम भएको उहाँले बताउनुभयो । विद्यालय र विश्वविद्यालयलाई राजनीतिक संगठनमुक्त बनाउने र ट्रेड युनियनको खारेजी गर्ने निर्णय एकदम उचित भएको उहाँले बताउनुभयो । शैक्षिक संस्था राजनीतिक संगठनको हुँदा नैतिक शिक्षा हराउँदै गएको आरोप समेत उहाँले लगाउनु भयो ।

आर्थिक र औद्योगिक क्षेत्रका नेतृत्वकर्ताहरूले पनि सरकारको नीतिलाई स्वागत गरेका छन् । उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माले नयाँ औद्योगिक नीतिले चाँडै औद्योगिक क्षेत्रमा निजी र वैदेशिक लगानीको वातावरण बनाउने आशा व्यक्त गर्नुभयो । हाललाई ट्रेड युनियन खारेज गर्ने निर्णय उचित भएपनि भविष्यमा एउटा उद्योगमा एउटा मात्र युनियन रहने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । सरकारले सार्वजनिक गरेको कार्यसूचि अनुसार इमान्दारीपूर्वक काम भए मुलुक फड्को मार्ने उहाँले बताउनुभयो ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले व्यवसायीहरू आतिएको अवस्थामा सरकारको नयाँ नीतिले उत्साह थपेको बताउनुभयो । ‘हामीले खोजेको सुशासन र औद्योगिक सुरक्षा नै हो’, अध्यक्ष रानाभाटले भन्नुभयो । औद्योगिक क्षेत्रको विकासका लागि आफुहरु सरकारसँग सहकार्य गरी अगाडि तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । मकवानपुरका सरोकारवालाहरूले नयाँ र पुराना सरकारबीचको भिन्नता ‘बोलीमा भन्दा पनि व्यवहारमा’ देखिनुपर्नेमा जोड दिएका छन् । दुई तिहाइको बलियो सरकारले अघि सारेको यो कार्यसूचीले मुलुकलाई कम्तीमा एक कदम अगाडि लैजानेमा उनीहरू विश्वस्त देखिएका छन् ।

Exit mobile version