हेटौँडा:मकवानपुर जिल्लामा अघिल्लो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शून्य भएका विद्यालयहरुले यस वर्ष नतिजामा सुधार ल्याउन संघर्ष गरिरहेका छन् । जिल्लामा एसईईमा शून्य नतिजा प्राप्त गर्ने विकट क्षेत्रका ७ वटा विद्यालयहरुलाई नतिजा सुधारका लागि दबाब आएपछि संघर्ष गरिरहेका हुन् ।
जिल्लाको विकट मानिएको राक्सिराङ गाउँपालिका–४ स्थित कालिका माविबाट २ जना, राक्सिराङ–८ स्थित श्री माध्यमिक विद्यालयबाट १७ जना र राक्सिराङ–६ स्थित प्रजा जागृति माविबाट २९ जना विद्यार्थी एसईईमा सामेल भएकोमा शून्य नतिजा आएको थियो । बकैया गाउँपालिका–२ स्थित कालिका माविबाट २३ जना र बकैया–१० स्थित प्रसिद्ध माविबाट १५ जना एसईईमा सहभागी भए पनि शून्य नतिजा आएको थियो । जिल्लाको थाहा नगरपालिका–७, आग्रास्थित सुन्दरीदेवी माविबाट ८ जना र मनहरी गाउँपालिका–२ स्थित सीता माबिबाट २० जना सहभागी भएकोमा शून्य नतिजा प्राप्त भएको थियो ।
अघिल्लो वर्ष नतिजा शून्य आएका कारण विद्यालयलाई स्थानीय सरकार, प्रशासनलगायत विभिन्न पक्षहरुबाट नतिजा सुधारका लागि दबाब आएको र विद्यालयको वातावरणमा खासै परिवर्तन नआएकोले प्रधानाध्यापकहरु यसपटक पनि धेरै राम्रो सुधारको अपेक्षा नराखेको बताउँछन् । नतिजा शून्य आएका अधिकांश विद्यालयहरु विकट स्थानमा रहेको र विद्यालयहरुमा विषयगत शिक्षक नरहेका कारण विद्यार्थीले विषयवस्तुको राम्रो ज्ञान पाउन सकेका छैनन् ।
हालसम्म माध्यमिक तहको शिक्षक दरबन्दी नै नरहेको कारण प्राथमिक तहका शिक्षकहरुले कक्षा १० सम्म अध्यापन गर्दै आइरहेको श्री माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर राउत बताउनुहुन्छ । उहाँको विद्यालयमा १२ जना शिक्षकमध्ये बालविकासमा १ जना, निमावि राहत ३ जना, प्रावि तहका स्थायी शिक्षक ४ जना, प्राविकै राहत १ र प्राविकै अस्थायी १ जना रहेका छन् ।
मावि तहमा पठनपाठनका लागि दीगो विकासका लागि एकता नेपाल नामक संस्थाको आर्थिक सहयोगमा २ जना शिक्षक उपलब्ध गराएकाले मात्र मावि तहमा कक्षा सञ्चालन केही सहज भएको प्रधानाध्यापक राउतको भनाइ छ । परीक्षाको फारम भर्नसमेत विद्यार्थी विद्यालयमा उपस्थित नभई फोनबाट अनुरोध गर्दै आएको उहाँको अनुभव छ । बालबिबाहले पनि विद्यालयमा असर पारेको उहाँको भनाइ छ । पालिकाबाट अनुगमन तथा चेतावनीमात्र आउने र विद्यालयलाई दीगोरुपमा सुधार गर्न स्थानीय सरकारले कुनै कदम नचालेकोप्रति उहाँको गुनासो छ । यसवर्ष २८ जना विद्यार्थी एसईईमा सहभागी हुँदै गर्दा १२ जना उत्तीर्ण हुने अपेक्षा विद्यालयले राखेको छ ।
बकैयास्थित कालिका माविका प्रधानाध्यापक सुकराम स्याङ्तान पनि स्थानीय तहले पटक–पटक अनुगमन गर्दै चेतावनी दिने गरेको तर सुधारका लागि कुनै समन्वय नगरेको आरोप लगाउनुहुन्छ । यस विद्यालयबाट विद्यालय छाड्ने बालबालिकाको संख्या उच्च भएपनि यसलाई कम गर्न कुनै कदम पालिकाले नचालेको उहाँको भनाइ छ । यस वर्ष ८ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । यसपटक भने विशेष कक्षासहितको पठनपाठन सञ्चालन भएकोले केहीको नतिजा राम्रो आउने विद्यालयको अपेक्षा छ । अभिभावकहरुमा बालबालिकाको शिक्षाप्रति कुनै चासो नदेखिएको उहाँको अनुभव छ ।
यस्तै समस्या मनहरी–२ स्थित सीता माविको पनि छ । यस विद्यालयमा कतिपय विद्यार्थीहरु बालबिबाह गरी सिधै परीक्षामा मात्र सामेल हुन आउने गरेकोले पनि नतिजा खस्किरहेको विद्यालयका प्रधानाध्यापक विशाल घलान बताउनुहुन्छ । विद्यालयले वडा कार्यालयसँगको समन्वयमा विद्यालयमा यस वर्ष होस्टेल राखेरै कक्षाहरु सञ्चालन गरिरहेको छ । यस वर्ष एसईई दिने ३० जनामध्ये १० जना उत्तीर्ण हुने विद्यालयले अपेक्षा राखेको छ । अभिभावकहरुमध्ये १० प्रतिशतमात्रै विद्यालयको सम्पर्कमा आउने गरेका छन् भने मावि शिक्षकको व्यवस्था यसै शैक्षिक सत्रबाट मात्र भएको कारण यस वर्ष भने राम्रो नतिजा आउने अपेक्षा राखेको प्रधानाध्यापक घलानले स्पष्ट पार्नुभयो ।











