प्रतियोगितामा प्रथम भएको काभ्रेको टिमको तस्वीर ।

हेटौँडा : प्रथम राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा काभ्रे जिल्लाको टिम प्रथम भएको छ । हेटौँडामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत भएको प्रतियोगितामा ७ स्वर्ण, १ रजत र १ कास्य जित्न सफल काभ्रे प्रथम भएको हो ।

प्रतियोगितामा २ स्वर्ण, २ रजत र ३ कास्यसहित नुवाकोट दोस्रो र २ स्वर्ण, २ रजत र २ कास्य जितेको काठमाडौंले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरेका टोलीले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगितामा पुरुषतर्फ काभ्रेका किरम तामाङ र महिलातर्फ दाङकी वर्षा घर्ती मगर उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडीलाई श्रीराम लामाले समान ३/३ हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभयो ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजना तथा मकवानपुर जिल्ला तेक्वान्दो संघको व्यवस्थापनमा हेटौँडा–१०, टिसिएन चौरमा प्रतियोगिता भएको थियो । प्रतियोगितामा महिलातर्फ ४५ जना र पुरुषतर्फ ७८ जना गरी कुल १२३ जना खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा महिलातर्फ ४२, ४६, ४९, ५३ र ५७ केजी तौल समूहका खेलाडी सहभागी भएका थिए । पुरुषतर्फ ४८, ५१, ५४, ५८, ६३ र ६८ केजी तौल समूहका खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा रुपन्देही, पर्सा, बारा, काभ्रे, काठमाडौं, भक्तपुर, नुवाकोट, चितवन, दाङ र रसुवा जिल्लाको एक–एक वटा र मकवानपुरको दुई वटा टोली गरी १२ टोलीको सहभागिता थियो ।