Home खेलकुद प्रधानमन्त्री कप क्रिकेट, मधेश प्रदेश शीर्षस्थानमा

प्रधानमन्त्री कप क्रिकेट, मधेश प्रदेश शीर्षस्थानमा

प्लेयर अफ द म्याच मधेश प्रदेशका विशाल पटेललाई ट्रफीसहित पुरस्कृत गरिँदै ।

हेटौँडा : पुरुष एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ मा मधेश प्रदेश शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार लुम्बिनी प्रदेशलाई २५ रनले हराउँदै मधेश अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो ।

शुक्रबार जनकपुरमा भएको खेलमा मधेशले लुम्बिनी प्रदेशलाई २५ रनले पराजित गरेको हो । टस जितेर मधेशले व्याटिङ राजेको थियो । सुरुमा व्याटिङ गरेको मधेशले ३८ ओभर १ बलमा १२४ रनमा अलआउट हुँदै लुम्बिनी सामु १२५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । मधेशका मयन यादवले ३१ रन र आदिल आलमले २३ बनाए । लुम्बिनीका सन्देश थापा र सन्तोष यादवले समान ३ विकेट लिए । जवाफी व्याटिङ गरेको लुम्बिनी ९९ रनमै रोकियो । लुम्बिनीले २६ ओभरमा ९९ रनमा अलआउट भयो । लुम्बिनीका सुमित श्रेष्ठले ३० रन बनाए । मधेशका विशाल पटेल एक्लैले ५ विकेट लिए । विशाल प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगितामा मधेशको यो लगातार दोस्रो जीत हो भने लुम्बिनीको यो पहिलो हार हो ।

यस्तै, शुक्रबार वीरगंजस्थित नारायणी रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । टस हारेर व्याटिङको निम्तो पाएको कोशीले ४३ ओभर ४ बलमा अलआउट हुँदै १३० रन बनायो । कोशीका शिवांश बजगाइले २५ रन र सुमन श्रेष्ठले २४ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले ४ विकेट र किरण ठगुन्नाले २ विकेट लिए ।

कोशीले दिएको १३१ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिमका खडक बोहोराले ६६ रन र किरण ठगुन्नाले अविजित २५ रन बनाए । कोशीका विपिन महतोले २ विकेट र ज्ञानेन्द्र श्रेष्ठले १ विकेट लिए । प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो जीत हो भने कोशीको लगातार तेस्रो हार हो । सुदुरपश्चिमका हेमन्त धामी प्लेयर अफ द म्याच घोषित भए । सुदुरपश्चिम ३ खेलबाट ४ अंकसहित अंक तालिकाको चौथो र ३ खेलबाट ३ अंक जोडेका लुम्बिनी पाँचौ स्थानमा छ भने कोशी पुच्छारबाट दोस्रो स्थानमा रहेको छ ।

Exit mobile version