Home अर्थ/व्यापार हेटौँडामा प्रथम बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु

हेटौँडामा प्रथम बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु

प्रदर्शनीको उद्घाटन गर्नुहुँदै बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेल र मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट ।

हेटौँडा : हेटौँडामा प्रथम ‘बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी’ सुरु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि हेटौँडा–२ स्थित पल्पसा सदनमा प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीमा ४० वटा स्टलहरू रहेका छन् । प्रदेशका सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौं, चितवन र मकवानपुरका कृषक तथा कृषि उद्यमीहरूले स्टलहरु राखेका छन् । कृषक र अवलोकनकर्तालाई प्रोत्साहन गर्नका लागि प्रदर्शनीमा स्टल शुल्क र प्रवेश निःशुल्क गरिएको छ भने टाढाबाट आउनेहरुका लागि खाजा र बासको समेत व्यवस्था गरिएको छ ।

प्रदर्शनीको मुख्य उद्देश्य युवा पुस्तालाई कृषिमा आकर्षित गर्नु र कृषकहरूको मनोबल उच्च बनाउनु रहेको छ । प्रदर्शनीमा राखिएका स्टलहरूमा विषादीरहित जैविक खाद्यान्न मात्रै विक्री वितरण गरिने आयोजकले जनाएको छ । प्रदर्शनीमा कोदो, जुनेलो, फापर, मकैको पिठो, विभिन्न गेडागुडी, मसला, केराको चिप्स र अचारजस्ता खाद्य सामग्रीका साथै बाटेको धुप, गोबरबाट निर्मित दियो र गाँजाको रेशाबाट निर्मित कपडाहरू बिक्री वितरण भइरहेको छ । शुक्रबारदेखि सुरु भएको प्रदर्शनी सोमबारसम्म चल्नेछ ।

बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यमा प्रदर्शनीको उद्घाटन समारोह भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले कृषिसँग जोडिएको उद्योग मात्रै नेपालमा राम्रोसँग चल्न सकेको बताउनुभयो । कृषिप्रधान देश भनेर गर्व गरेर मात्रै बसिरहने नभएर कृषिलाई प्रविधिसँग जोड्नु आजको आवश्यकता रहेको उहाँको भनाई छ । कृषि अनुदान किसानलाई अल्छि बनाउन दिएको होइन भन्नुहुँदै अबदेखि वास्तविक किसानले अनुदान पाउने गरी उत्पादनका आधारमा अनुदान दिनुपर्ने कुरामा जोड दिनुभयो । प्रदेश सरकारले कोदो र फापर खेतिका लागि नियम, कानुन बनाए पनि कार्यान्वयनमा ल्याउन नसकेका कारण कोदो पनि अब विदेशबाट आयात गर्नुपर्ने अवस्था आइसकेको उहाँले औँल्याउनु भयो । सरकारको काम स्वदेशी किसानको उप्तपादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रदर्शनी स्थलमा शनिबार किसानको सफलताको कथा र आइतबार कृषि सम्बन्धी प्यानल छलफल कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको सभाध्यक्षतामा भएको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, प्रहरी प्रमुख श्यामबहादुर खत्रीको पनि आतिथ्य रहेको थियो ।

Exit mobile version