हेटौंडा : मकवानपुरमा चालु आर्थिक वर्षको ८ महिनामा सडक दुर्घटनाबाट ४६ जनाले ज्यान गुमाएका छन् । साउन यता फागुन महिनासम्मको ८ महिनाको अवधिमा मकवानपुरमा भएका २ स ६५ वटा दुर्घटनामा ४६ जनाले ज्यान गुमाएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार यस अवधिमा ३ सय ५४ वटा सवारी साधनहरु दुर्घटनामा परेका छन् । यि सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल २ सय २४ वटा परेका छन् । यस्तै दुर्घटनामा कार तथा जिप ४७ वटा, ट्रक तथा ट्याङकर ४५ वटा दुर्घटनामा परेका थिए । तेस्रोमा अटो ३४ वटा दुर्घटनाग्रस्त भएका ट्राफिक कार्यालयले जनाएको छ । यस्तै दुर्घटनामा बस १७ वटा, ट्रयाक्टर १० वटा, ट्रिपर ३ वटा, माइक्रोभ्यान २ वटा, स्काभेटर तथा लोडर एउटा, र साइकल तथा अन्य साधनहरु ८ वटा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यि दुर्घटनामा ४६ जनाको मृत्यु हुनुका साथै ५७ जना गम्भीर घाइते तथा ४ सय ७७ जना सामान्य घाइते भई प्रभावित बनेका छन् । नेपालका प्रमुख राजमार्गहरुका साथै पूर्व–पश्चिम राजमार्ग भएको तथा काठमाडौं छिर्ने बाटोहरु धेरै रहेकाले यस जिल्लामा सवारी दुर्घटना अत्यधिक हुने गर्दछ । यस क्षेत्रमा मानवीय कारण, सडकको बिग्रिएको अवस्था, मौसम बिग्रँदा, प्राकृतिक प्रकोपको कारण, यान्त्रिक कारण, पशु–चौपाया तथा पैदलयात्रीले अनियन्त्रित हिसाबले बाटो काट्दा लगायतका कारणले सडक दुर्घटना हुँदै आएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख बच्चुराम फुयाँलले जानकारी दिनुभयो ।
पहिले–पहिले केही वर्ष सडकको अवस्थाको कारण केही दुर्घटना हुने भएपनि पछिल्लो समय मानवीय कारण र यान्त्रिक कारणले बढी दुर्घटना हुने गरेको पाइएकोे उहाँको भनाइ छ । पछिल्लो समय दुर्घटना भएपछिको सुरक्षाजाँचका क्रममा चालकहरु मादक पदार्थ सेवन तथा लागुपदार्थ सेवन गरेको पाइएको समेत उहाँले स्पष्ट पार्नुभयो । यस अवधिमा भएका १ सय १४ जनाको लागूऔषध जाँचका क्रममा १२ जना सवारी चालकहरुले लागूऔषध सेवन गरी सवारी साधन चलाइएको पाइएको थियो । यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउने ३ सय ४३ जनालाई कारबाही समेत गरिएको प्रहरीको भनाइ छ । यस्तै यान्त्रिक रुपमा अचानक आउने समस्याको कारण पनि दुर्घटना भएका घटना धेरै रहेको प्रहरीको भनाइ छ ।
ट्राफिक प्रहरीले चालकसँग ५ मिनेट कार्यक्रम गरी सडकमै चालकहरुलाई सचेत गराउने गरेको उहाँले बताउनुभयो । यस्तै नयाँ सवारी चालकहरुलाई कक्षा सञ्चालन, विद्यार्थीहरु तथा व्यवसायीहरुलाई पनि सचेतना कार्यक्रम गर्ने गरिएको छ । साउनयता फागुनसम्म ६ सय ३९ पटक गरी ४६ हजार ४ सय जनालाई सचेतना कार्यक्रममा गरिएको समेत ट्राफिकको भनाइ छ । सडक दुर्घटना न्यनुकरणका लागि नियमित रुपमा ट्राफिक चेकजाँच गर्ने गरिएको फुँयालले दाबी गर्नुभयो । यस अवधिमा भएका ९ हजार ५ सय ७३ वटा ट्राफिक कारबाहीबाट ८७ लाख ५३ हजार रुपैयाँ राजश्व संकलन भएको पनि उहाँले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले सचेतना, जाँच तथा कारबाही र जरिवाना समेत गर्दा दुर्घटनाको सँख्यामा कमी नआएकोले अबको क्रममा स्थानीय सरकार पनि गम्भीर भएर सचेतनामा लाग्नुपर्ने प्रहरीको सुझाव छ । स्थानीय तहले नै विद्यालयमा सडक दुर्घटनाको विषयमा विभिन्न सचेतनामुलक कार्यक्रम गर्नुपर्ने, बाटो काट्ने नियम सिकाउने, ट्राफिक नियम मान्न उत्प्रेरित गर्ने, बिग्रिएका सडक मर्मतमा सडक विभागले तदारुकता देखाउने गरेमा सवारी चालकले सवारी चलाउनुअघि सवारी साधनको यान्त्रिक स्थिति जाँच गरेर मात्र यात्रा गर्ने, हतार गरेर सवारी नचलाउने इत्यादिमा ध्यान दिएमा सवारी दुर्घटनामा कमी आउनसक्ने प्रहरी निरिक्षक फुयाँलले बताउनुभयो ।











