१. वर्तमानको एसईई तत्कालिन एसएलसीकै नवसंस्करणको रुपमा बुझ्ने गरिन्छ । त्यत्तिबेला विद्यालय तहको अन्तिम परीक्षा एसएलसी हुन्थ्यो । अहिलेको एसईई पश्चात अरु २ वर्ष विद्यालय शिक्षामा बाँकी रहन्छ । हुन त यी दुबै परीक्षा कक्षा १० को अन्त्यमा हुनु अर्को समानता हो । शिक्षामा फलामे ढोका भन्ने पहिचान बनाएको एसएलसी परीक्षा साँच्चै एक इतिहास हो । वि.सं. १९९० सालबाट ३३ जना परीक्षार्थी सहभागी भै सुरुवात भएको यो परीक्षाको महत्वका बारेमा धेरैले धेरै पटक लेखेका छन् । हाल ५ लाख भन्दा बढी परीक्षार्थीहरु सम्मिलित हुने यो परीक्षा नेपालमा सबैभन्दा ठूलो मानिएको छ । शिक्षामा अरु परीक्षा पनि बोर्ड परीक्षा हुन्छन् । विश्वविद्यालयस्तरका तहगत परीक्षाहरु पनि राष्ट्रिय परीक्षा बोर्डबाटै संचालन हुँदै आएका छन् । अरु परीक्षाको चर्चा कमै हुन्छन् । एसईई सुरु हुनु भन्दा एक महिना अगावै र नतिजा प्रकाशन पश्चात अर्को महिनासम्म पनि चर्चा हुने परीक्षा सायद विश्वमै यहि हुनुपर्छ । देशैभर एकै समयमा र उही प्रश्नपत्रमा संचालन हुने एसईईले आम नागरिकको ध्यान आकर्षित गरेको तथ्यमा बिमति छैन ।

२. तत्कालिन एसएलसीमा सहभागी हुन कक्षा १० को अर्को परीक्षा टेष्ट उत्तीर्ण हुनै पथ्र्यो । टेष्ट फेल भएमा कक्षा १० मै पढ्नु पथ्र्यो । हाल यो व्यवस्था छैन । त्यत्तिबेला कक्षा ९ बाट पनि प्रश्नहरु सोधिने गरिन्थ्यो । आजका एसईईमा कक्षा १० बाट मात्र प्रश्न सोधिन्छ । कुनैबेला ९०० पूर्णाङ्क अनि झरेर ८०० पूर्णाङ्क र अहिले ७०० पूर्णाङ्कमा यो परीक्षा लिईन्छ । विगतमा संख्या कम हुने र उत्तीर्ण प्रतिशत पनि कमै हुने गरेकाले यो परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुको शान नै भिन्न हुन्थ्यो । अहिलेका पिएचडी होल्डर भन्दा तत्कालिन एसएलसी पास गर्नेहरुको चर्चा बढी नै हुन्थ्यो भन्दा अत्युक्ती नहोला । पास–फेल थाहा पाउन नतिजा प्रकाशन भएपछि थप कम्तिमा ३ दिन छटपटिएर कुर्ने अवस्था आज अर्को कथा बन्न सक्छ । एसएलसी उत्तीर्ण पश्चात अलग उर्जा प्राप्त भएजस्तो महसुस हुन्थ्यो । योग्यता त एकै हो तर आज एसईई गर्नेहरुमा झनै उदास र निराशा मात्र देख्न सकिन्छ । क्षमता पनि त एकै हुनुपर्ने तर त्यस्तो पाइँदैन । हाल सामान्य साक्षर जस्तो मानिने एसईईका तामझाममा भने खासै कमी देखिँदैन ।

३. परीक्षा नजिक आएपछि विद्यार्थी स्वयम् कसरी पास हुने भनेर चिन्तित हुन्छन् । त्यहि कुरो कक्षा १० को वर्ष सुरु हुँदै गम्भीर बन्ने हो भने यो उत्तीर्ण सहज हुन्थ्यो नै । यस परीक्षालाई हाउगुजी नै ठान्ने विद्यार्थीमा पूर्व सावधानी र तयारी पटक्कै भेटिँदैन । शिक्षकहरु, प्रधानाध्यापक र समितिका पदाधिकारीहरु, शिक्षा प्रशासनका कर्मचारीहरु र अभिभावक समेत सबैको ध्यान यहि एसईईमा केन्द्रीत देखिनु अर्को तमाशा भन्नै पर्दछ । घर बलियो हुन त जग मजबुत चाहिन्छ भन्ने यी सबै ठूला मान्छेहरु कक्षा १ को सिकाई उपलब्धिका बारेमा रत्ति पनि चासो लिएको भेटिँदैन । कक्षा २ मा हासिल गर्नुपर्ने सिकाई उपलब्धि पूरा नगरी विद्यार्थी कक्षा ३ मा कक्षोन्नति हुन्छ । त्यसैगरी कक्षा ३ र अरु कक्षामा पनि क्रमशः उहि प्रक्रिया हुँदै विद्यार्थीहरु कक्षा १० मा पुग्छन् । कक्षा ८ को परीक्षा स्थानीय तहबाट संचालन हुने व्यवस्था भए पनि मात्र औपचारिकता जस्तो देखिन्छ । स्थानीय तहमा जनशक्तिको अभाव र भएकाको पनि उपयुक्त व्यवस्थापन नहुनाले समस्या बनेको हुन सक्छ । परीक्षाको मुखमा पोहोर साल नतिजा किन शून्य भयो भनेर समीक्षा हुनु अर्को तमाशा देखिने हाम्रो सन्दर्भमा यो परीक्षामा सुधारको अपेक्षा पनि धेरै टाढा भन्नै पर्दछ । समीक्षा त नतिजा प्रकाशन भएको सात दिन भित्र हुनुपर्छ । त्यो पनि समीक्षाका लागि समीक्षा होइन, नतिजा सुधारेरै छाड्ने ठोस योजना अनि त्यसका कार्यान्वयनसँग जोडिनै पर्दछ ।

४. करिब उस्तै संख्या र केन्द्रमा संचालन हुने कक्षा १२ को प्रश्नपत्र ईमेलबाट पठाउन सक्ने परीक्षा बोर्डले एसईईको भने प्रहरी चौकीमा राखेर ठूलै सुरक्षा दिएको देख्दा आश्चर्य नै लाग्छ । केन्द्राध्यक्ष छनौटमा शिक्षा प्रशासनका कर्मचारीहरुका अतिरिक्त शिक्षकका पेशागत संस्थाहरु र राजनीतिक पार्टीहरुको चलखेल पर्याप्त हुने कुराहरु यो परीक्षाका विशेषता नै भन्दा हुन्छ । परीक्षा केन्द्र निर्धारणमा गरिने हस्तक्षेप लगायतका काममा विधिका कुराहरु प्रायः ओझेलमा पर्नु अनौठो मानिँदैन । परीक्षा अनुगमनका नाममा तोकिएका परीक्षा समितिका पदाधिकारीका अतिरिक्त पत्रकार, राजनीतिक पार्टीहरु, शिक्षकका पेशागत संस्थाहरु, अभिभावक संघ, स्थानीय तथा प्रदेश सरकारका व्यक्तिहरु, जनप्रतिनिधिहरु र शिक्षा प्रशासनका अन्य व्यक्तिहरुको गतिलै जमात जन्ती झैं देखिने गरी परीक्षा केन्द्रमा प्रवेश गर्दा गतिलो हलचल हुने अझ यी अनुगमनकर्ताहरुको जमात परीक्षा हलमै प्रवेश गर्दा त परिक्षार्थीहरु झस्कने र आत्तिने गरेका घटना पनि हामीले सुनेका छौं । यस्ता अनुगमनले परीक्षा जहाँ स्वच्छ र मर्यादित बनाउनु पर्ने हो त्यहाँ रत्ति पनि असर नगरेको र जहाँ आफैंमा अनुशासित र व्यवस्थित छ त्यहाँ ती अनुगमनले कुनै अर्थ नराखेको अवस्थाहरु स्पष्ट पाइएको छ ।

५. प्रत्येक परीक्षा केन्द्रमा कम्तिमा १५ जना सुरक्षाकर्मीहरु, २० परीक्षार्थी बराबर एक निरीक्षक, कर्मचारी, सहायक केन्द्राध्यक्षहरु र केन्द्राध्यक्षको सुसज्जित टिम परीक्षा संचालनार्थ व्यवस्था गरिएको हुन्छ । यो अनुगमनको नाटक किन गरिन्छ, रहस्यमय र बुझ्नै कठिन लाग्छ । परीक्षामा संलग्न भइरहेका विद्यार्थीहरुको भिडियो बनाउने पत्रकार र टिकटक बनाउने शिक्षक कर्मचारीहरु देख्दा झनै उदेक लाग्दो र तमाशा नै देखिन्छ । परीक्षाका मर्यादा र पहिचान नै धुलो बनाएर चोर्ने चोराउनेहरुमा यो अनुगमनको तामझामले रत्तिपनि प्रभाव पारेको पाईंदैन । जहाँ मर्यादित र स्वच्छ परीक्षा संचालन हुन्छ, त्यहाँ यस प्रकारका अनुगमनले परीक्षार्थीहरुमा त्रास र डिस्टर्व भएको सहजै देख्न सकिन्छ ।

अहिले धेरैजसो परीक्षा केन्द्रहरुमा सिसि क्यामेरा भएकाले पनि अनुगमनलाई प्रविधिसँग जोडेर आआफ्नो अफिसबाट सहजै हेर्न सकिन्छ । स्थलगत भ्रमण गर्ने र परीक्षा हलमै प्रवेश गरेर नाटक देखाउनु जरुरी छैन । परीक्षा सकिए पश्चात उत्तरपुस्तिका प्रहरीको जिम्मामा राखेर अन्तमा उत्तरपुस्तिका परीक्षण केन्द्रमा लैजाने सम्बन्धमा पनि आवश्यक सहजताका सवालमा ध्यान दिएको पाईंदैन । परीक्षासँग सम्बन्धित अधिकांश प्रक्रियाका बारेमा सान्दर्भिक र सामयिक बनाउनेतर्फ पर्याप्त विश्लेषण र योजना देखिँदैन । विगतमा यो गरियो, अहिले पनि त्यसैगरी चलाउनु पर्छ भन्ने मानसिकताले परीक्षा बोर्ड ग्रसित बुझिन्छ ।

६. अन्तमा, एसईईलाई प्रदेशस्तरबाट संचालन र व्यवस्थापन गर्ने कुरा कागजमा मात्र सीमित नबनोस् भन्ने अभिप्राय पनि यो आलेखसँग जोडिएको छ । शैक्षिक गुणस्तरीयता र परीक्षाका मर्यादाका सवालमा शून्य सहनशीलता हुनै पर्दछ । जत्ति लामो डोरी बाटे पनि गाँठो भने एउटै भने जस्तो यी सबै हाउगुजी श्रृजनाका पछाडि पैसाको खेलो जोडिएकोमा शंका छैन । श्रम गर्ने चाहीँ न्यून पारिश्रमिकमा लदिएको हुन्छ तर लाउकेहरु भने भत्ताका पछाडि कुदिरहेका हुन्छन् । परीक्षाका प्रभावकारिता र मर्यादा अनि स्वच्छतासँगै स्तरीयताका लागि आजसम्मका अनुगमनका प्रतिवेदन कहाँ पुगे भन्ने प्रश्नको जवाफ खोज्नु पर्दैन ? परिवर्तन के–के भए भनेर विवरण सार्वजनिक भए त ? परीक्षालाई परीक्षा जस्तो बनेको हेर्न चाहन्छौं । अनावश्यक तामझाम होइन । अनुगमनका ताँती पनि जरुरी छैन । शिक्षण संस्थाका विद्यार्थी मूल्याङ्कनका मूल औजार बनेको परीक्षाका विश्वसनीयता र वैधताका सवालमा कुनै पनि सम्झौता गरिेनु हुन्न् । जाँच लिने र दिने भनेकै शिक्षक र सम्बन्धित परीक्षार्थी नै जिम्मेवार पक्ष भएकाले उनीहरुको सन्तुष्टिमा परीक्षा बोर्डले प्रदर्शन गर्ने अभिभावकीय भूमिकामा रत्ति पनि कमजोरी नरहोस् भन्ने हाम्रो चाहना हो ।