हेटौँडा : काठमाडौंको माइतिघरस्थित सेन्ट जेभियर्स कलेज र हेटौँडाको हेटौँडा स्कूल अफ म्यानेजमेन्टले शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि सम्झौता गरेको छ । संस्थागत पहिचान तथा ब्रान्डिङ सुदृढ बनाउने उद्देश्यका साथ दुवै संस्थाका प्रतिनिधिहरुले बिहीबार ३ वर्षे सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सेन्ट जेभियर्स कलेजको तर्फबाट प्राचार्य प्रोफेसर डा. अगस्तिन थमस, एस जे र हेटौँडा स्कूल अफ म्यानेजमेन्टको तर्फबाट प्राचार्य पुरन बहादुर जोशीले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । सम्झौताअनुसार दुवै संस्थाले प्राध्यापक तथा मानवस्रोत आदान–प्रदान गर्नुका साथै संयुक्त अनुसन्धान परियोजना सञ्चालन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेमिनार र कार्यशाला आयोजना गर्नेछ । यस्तै प्रमाणपत्र तहका कार्यक्रम विकास, शिक्षक तथा कर्मचारीका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन तथा आधुनिक र नविन शिक्षण विधिमा पनि सहकार्य गर्ने सम्झौतापत्रमा उल्लेख छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक सेवा, ग्रामीण क्षेत्रमा शैक्षिक पहुँच विस्तार तथा उद्यमशीलता प्रवद्र्धनसम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन गरिनेछ । आपसी सहमतिका आधारमा सम्झौता नवीकरण गर्न सकिने हेटौँडा स्कूल अफ म्यानेजमेन्टले जनाएको छ । यसले दुवै संस्थाबीच ज्ञान अदान–प्रदान, नवप्रवर्तन र शैक्षिक गेणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिइएको छ ।
