हेटौँडा : हेटौँडा अस्पतालमा फागुन महिनामा २० बर्षमुनिका १४ जना किशोरीहरु आमा बनेका छन् । एक महिनामा अस्पतालमा २ सय ३८ जना महिलाहरुले प्रसुति सेवा प्राप्त गरेकोमा १४ जना २० वर्षमुनिका किशोरीहरु रहेका हुन् ।
हेटौँडा अस्पतालको मातृशिशु शाखाबाट गत साउनदेखि फागुन मसान्तसम्म ८ महिनाको अवधिमा १ सय ४७ जना २० वर्षभन्दा कम उमेरका किशोरीहरु आमा बनेका छन् । यस अवधिमा हेटौँडा अस्पतालमा २ हजार ७० जनाले प्रसुति सेवा लिएकोमा १ सय ४७ जना २० बर्ष मुनिका रहेका छन् ।
मकवानपुरको मनहरी, भीमफेदी, बागमती, बकैया गाउँपलिकालगायत हेटौँडा उपमहानगरपालिकाका केही वडाहरुबाट समेत किशोरी आमाहरु प्रसुति सेवा लिन आउने गरेको हेटौँडा अस्पतालको मातृशिशु शाखाका स्वास्थ्यकर्मीले जनाएका छन् । २० वर्ष उमेर नपुगी आमा बन्दा आमा र शिशु दुबैको स्वास्थ्य जोखिममा रहने स्वास्थ्यकर्मीको भनाइ छ । आमाको प्रजनन् अंग विकास भइनसकेकोले प्रसुति सेवामा समेत जोखिम हुनसक्ने, सानो उमेरमा गर्भवती हुँदा शिशु पूर्ण परिपक्व नभई जन्मने सम्भावना रहने र समय नपुगी जन्मेको शिशुलाई विभिन्न संक्रमणको समेत खतरा रहने चिकित्सकहरुले चेतावनी दिँदै आइरहेका छन् ।
२० वर्ष नपुगी बिहे गरेका दम्पतीको विवाह दर्ता नहुने र विवाह दर्ता नभई जन्मेको नवजात शिशुको पनि जन्मदर्ता गर्न नमिल्ने हुनाले जन्मदर्तासमेत ढिलो हुने गरेको छ । नेपालको कानुनले २० वर्ष उमेर पूरा नभई विवाह गर्नुलाई दण्डनीय अपराध माने पनि २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने र सन्तान जन्माउने क्रम रोकिएको छैन ।











