Home मुख्य समाचार प्रदेशका दुई कार्यालय नमुना कार्यालयमा परिणत

प्रदेशका दुई कार्यालय नमुना कार्यालयमा परिणत

हेटौँडा : उद्योग तथा वाणिज्य कार्यालय काभ्रेपलाञ्चोकलाई विभिन्न सुविधासहितको नमुना कार्यालयको रुपमा सञ्चालन गरिएको छ । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयकोे जिल्लास्थित कार्यालयहरुलाई नमुना कार्यालय बनाउने कार्यक्रमअन्तर्गत फागुन २९ गतेदेखि यस कार्यालयबाट दोस्रो नमुना कार्यालयको सेवा सञ्चालन गरिएको हो ।

नमुना कार्यालय बनेसँगै यस कार्यालयमा अन्य कार्यालयमा जस्तो लाइनमा उभिएर, झ्यालबाट उभिएर वा कोठा कोठाका डेस्कहरुमा धाउनुपर्ने आवश्यक नरहने कार्यालयका प्रमुख रविन घिमिरेले जानकारी दिनुभयो । नमुना सेवा प्रदान गर्न सेवाग्राहीका लागि कार्यालयमा सोफासहितको आराम गर्ने हल, सोही हलमा चिया, पानी, इन्टरनेट सेवा, मोबाइल चार्जलगायतका आधारभूत सुबिधा थप गरिएको छ ।

यस कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले कार्यालयको सुरुवातको सोधपुछ काउन्टरमा कागजात बुझाएपछि र मोबाइल बैंकिङमार्फत सोही काउन्टरमा शुल्क तिरेपछि सेवाग्राहीहरु आरामदायक हलमा प्रतीक्षा गरेर बस्न पाउनेछन् । कागजात पेश गरेको १५ देखि २० मिनेटमा काम सम्पन्न भई कागजात सेवाग्राहीको हातमा आउने व्यवस्था मिलाइएको कार्यालय प्रमुख घिमिरेले स्पष्ट पार्नुभयो । कार्यालयमा सेवाग्राहीका लागि नमुना सुविधाहरु थप गर्न सामग्री खरिदमा बजेट खर्च भएपनि पुरानै जनशक्तिले नयाँ सुविधा व्यवस्थापन गर्न सकिएको उहाँले बताउनुभयो ।

उद्योग वाणिज्य कार्यालय चितवनलाई अघिल्लो वर्षको मंसिरबाटै पहिलो नमुना कार्यालयको रुपमा सञ्चालनमा ल्याइएको थियो । त्यस कार्यालयमा पनि सेवाग्राहीका लागि एसी र सूचना डिस्प्लेसहितको प्रतीक्षा हल, सेवाग्राही आफैँले कम्प्युटरको डिस्प्लेमा हेर्न पोष्ट मेसिनलगायतका सुविधा राखिएका छन् । यहाँ पनि सेवाग्राहीहरु लाइन लाग्नु वा कोठा कोठा चाहार्नु नपर्नेगरी सेवाग्राहीलाई आवश्यक शुल्क, कागजातलगायतका सूचना पनि डिस्प्लेबाट प्रदर्शन गर्ने व्यवस्था मिलाइएको छ । अघिल्लो वर्ष उद्योग मन्त्रालयले पहिलो कार्यालयको रुपमा चितवन कार्यालयलाई साँढे सात लाख रुपैया बजेट छुट्याएको थियो । यी कार्यालयहरुमा मोबाइल बैकिङ प्रयोग नगर्नेहरुले भने भौचर बोकेर नजिकैको बैंक काउन्टरसम्म पुग्नुपर्दछ । यद्यपि शुल्क तिर्ने बाहेकका अन्य काम भने एकद्वारबाटै हुने जनाइएको छ ।

काभ्रेपलाञ्चोक सँगै सिन्धुली, रामेछाप र भक्तपुरलाई पनि यसै आर्थिक वर्षमा नमुना कार्यालय बनाउने लक्ष्य राखेको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सूचना अधिकारी सुनिल बन्जाराले बताउनुभयो । आगामी वर्षहरुमा क्रमशः प्रदेशका सबै उद्योग कार्यालयहरुलाई नमुना कार्यालय बनाउने लक्ष्य पनि मन्त्रालयले राखेको छ । मन्त्रालयले यसवर्ष ४ वटा जिल्लाका उद्योग तथा वाणिज्य कार्यालयहरुलाई नमुना बनाउन १२ लाखका दरले बजेट बिनियोजन गरेको थियो ।

Exit mobile version