Home खेलकुद प्रधानमन्त्री कप क्रिकेटः कर्णाली र मधेश प्रदेश विजयी

प्रधानमन्त्री कप क्रिकेटः कर्णाली र मधेश प्रदेश विजयी

हेटौँडा : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई र मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । बुधबार वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा मधेशले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको हो ।

खेलमा टस हारेर व्याटिङको निम्तो पाएको सुदूरपश्चिमले मधेशसामु १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सुदूरपश्चिम ४३ ओभर २ बलमा अलआउट भएको थियो । सुदूरपश्चिमका अभिषेक पालले ३३ रन, किरण ठगुन्ना र नारायण जोशीले समान २३ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका अशोक धामीले ३ विकेट र कप्तान शेर मल्ले २ विकेट लिए ।

१ सय ६१ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले ३३ ओभर ४ बल्लमा ५ विकेट गुमाएर लक्ष्य भेटाएको हो । मधेशका लागि बलिङ गर्दा ३ विकेट लिएका अरनिकोप्रसाद यादवले अविजीत ४६ रन बनाए भने आदिल आलमले ३४ रन जोडे । बलिङतर्फ प्रदिप पासवानले २ विकेट लिए ।

यस्तै, जनकपुरको रामजानकी क्रिकेट मैदानमा भएको अर्को खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई १६ रनले पारजित गरेको छ । सुरुमा व्याटिङ गरेको कर्णालीले कोशी सामु १५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कर्णालीले ३९ ओभर १ बलमा सबै विकेट गुमाएर १५१ रन जोडेको थियो । विपिनविक्रम शाही ठकुरीले ६३ रन र विपिन रावलले ३२ रन बनाए । बलिङमा कर्णालीका दिनेश अधिकारीले ५ विकेट, कप्तान दिवन पुन र प्रकाश जैशीले समान २ विकेट लिए ।

कर्णालीका सामु कोशीका व्याटरहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । कोशी प्रदेशको टिम ४४ ओभर४ बलमा १३५ रनमै अलआउट हुन पुग्यो । कोशीका दिपेश कँडेलले २६ रन, शिवंस बजगाईले २३ रन र ओपनर व्याटर सुमन श्रेष्ठले २० रन बनाएका थिए । अन्य व्याटरहरुले भने राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै कोशीका प्रेम कामतले ४ विकेट, ज्ञानेन्द्र श्रेष्ठले ३ विकेट र कप्तान सुजन थपलियाले २ विकेट लिए ।

जारी प्रतियोगितामा दुई खेलबाट मधेश प्रदेश ३ अंकसहित अंक तालिको दोस्रो स्थानमा छ । यस्तै, ३ खेल खेलेका कर्णाली ३ अंहसहित तेस्रो, दुई खेल खेलेको सुदूरपश्चिम २ अंकसहित सातौँ र ३ खेल खेलेका कोशी १ अंकसहित पुच्छारबाट दोस्रो स्थानमा रहेको छ । प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोली (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी) गरी १० टोली सहभागी छन् । प्रतियोगिताको उपाधि विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

Exit mobile version