हेटौँडा : बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता र तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता आगामी जेठ महिनामा आयोजना हुने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को गत बुधबार बसेको बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।
बैठकको निर्णयअनुसार २०८३ जेठ १ गतेदेखि ३ गतेसम्म प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताका लागि परिषद्ले तयारी तीव्र पारेको छ । परिषद्को कार्यालयले आइतबार एक सूचना जारी गरी प्रदेशका १३ वटै जिल्लालाई खेलाडी छनोट प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ । आगामी वैशाख १५ गतेभित्र जिल्लास्तरबाट खेलाडी छनोट गरी छनोट भएका खेलाडी र अफिसियलहरूको नामावली परिषद्को कार्यालयमा पठाइदिन अनुरोध गरिएको छ ।
यस्तै, बैठकको निर्णय अनुसार अगामी जेठ २४ गतेदेखि ३० गतेसम्म प्रदेश खेलकुद प्रतियोगिता सञ्चालन हुनेछ । परिषद्ले आईतबार एक सूचना जारी गरी निर्धारण गरिएको खेलाडी कोटा, खेल संख्या र खेल ईभेन्टस्को आधारमा खेलाडी छनोट गरी जेठ ५ गतेभित्र खेलाडी र अफिसियलको नामावली पठाउन प्रदेशका सबै जिल्ला खेलकुद विकास समितिलाई आग्रह गरेको छ । प्रतियोगितामा फुटबल, भलिबल, कराँते, तेक्वान्दो, क्रिकेट, उसु, जुडो, व्याड्मिन्टन, बुद्धिचाल, पौडी र एथ्लेटिक्स विधाका खेलहरु आयोजना गरिनेछ । प्रतियोगितामा महिला र पुरुषबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।











