Home मुख्य समाचार छुट्टाछुट्टै घटनामा २ जिल्लामा ३ जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा २ जिल्लामा ३ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन र नुवाकोट जिल्लामा सोमबार ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१ निपनी चोकमा तेल बोकेको ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेर २५ मिनेटको समयमा खैरहनीबाट भरतपुरतर्फ जाँदै गरेको लु २ ख २८९४ नम्बरको डिजेल ट्याङ्करले भित्री बाटोबाट निस्कँदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा स्कुटरको पछाडी सवार भरतपुर महानगरपालिका–७ बस्ने ३५ वर्षीया मीना रेग्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ भने चालक ५३ वर्षीय पूर्ण सापकोटा सकुशल रहेका छन् । दुर्घटनापछि ट्याङ्करले सडक किनारामा रोकेर राखिएका अन्य सवारी साधन-ना ६५ प ७८८३ र ना ५५ प ८०८३ नम्बरका मोटरसाइकल तथा एक साइकललाई समेत ठक्कर दिँदा ती सवारी साधनमा क्षति पुगेको छ । ट्याङ्कर चालक राप्ती नगरपालिका–७ बस्ने २४ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा मिक्सर गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सोमबार साँझ ५ बजेर २० मिनेटको समयमा काठमाडौँबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०१६ प ९६८९ नम्बरको स्कुटरलाई प्रदेश १–०२–००१ क ४५३३ नम्बरको पीएम मिक्सर गाडीले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा स्कुटर चालक धादिङ बेनीघाट रोराङ गाउँपालिका–८ बस्ने ४० वर्षीय टपलाल श्रेष्ठ मध्यम घाइते भएका थिए भने पछाडि सवार उनकी श्रीमती ४२ वर्षीया अम्ब कुमारी श्रेष्ठ गम्भिर घाइते भएकी थिइन् । घाइते दुवैको इच्छाकामना आधारभूत स्वास्थ्य चौकी कुरिन्टार प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा अम्बबुमारीको साँझ ७ बजेर ११ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । मिक्सर चालक सुनसरी जिल्लाको इनरुवा नगरपालिका–७ बस्ने ५० वर्षीय राजकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नुवाकोटको लिखु गाउँपालिका–६ महादेवस्थानमा सिँचाइका लागि बनाइएको कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय केदार धमला रहेको प्रहरीले जानकारी दिएको छ । केदार सोमबार बिहान ९ बजेको समयमा घाँस काट्न गएका थिए । केदार दिउँसो ३ बजेर २५ मिनेटको समयमा सोही क्रममा सिँचाइका लागि बनाइएको कुलोमा पानीमा घोप्टो परी डुबेको अवस्थामा मृत फेला पारेका थिए । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version