हेटौँडा : नेपाली र नेपाल भाषा पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएका पत्रकार सुरेश किरण मानन्धरको निधन भएको १३ औं दिनको पूण्यतिथिमा हेटौँडामा शोकसभाको आयोजना गरिएको छ । भाषा आयोगको सदस्य समेत रहनुभएका मानन्धरको फागुन २५ गते हृदयघात भई निधन भएको थियो ।
हेटौँडामा नेवार समुदायका विभिन्न पुचः, गुठी, खलःका पदाधिकारीको उपस्थितिमा शोकसभाको आयोजना गरिएको हो । शोकसभाअघि हेटौँडा–२ स्थित संगमचोकमा भेला भएर श्रद्धाञ्जली व्यानरसहित हरिकुञ्जरोड, कान्तिराजपथ, बुद्धचोक, पिपलबोटचोक हुँदै हेटौँडा–२ स्थित मन्त्र होटलमा शोकसभा आयोजना गरिएको थियो । शोकसभा आयोजक समितिका संयोजक विष्णुगोपाल महर्जनको अध्यक्षतामा भएको शोकसभामा सुरेश किरण मानन्धरको विषयमा हेटौँडा वापौका पूर्व कार्यकारी सम्पादक मोहनमान सांगामीले जानकारी गराउनुभएको थियो ।
नेपाली भाषा र नेपाल भाषाको पत्रकारितामा उल्लेखनीय योगदान पु¥याउनुभएका मानन्धरले हेटौँडाबाट प्रकाशन हुने नेवारी भाषाको पत्रिका हेटौँडा वापौको प्रकाशनमा पनि महत्वपूर्ण सहयोग पुर्याउनुभएको बताउनुभयो । पूर्वशिक्षक देवप्रसाद श्रेष्ठले सुरेश किरणको निधनले भाषा, कला, संस्कृति र पत्रकारिताको क्षेत्रमा अतुलनीय क्षति पुगेको श्रेष्ठले दावी गर्नुभयो । सुरेश किरणले आफ्नो जीवन मात्रै नबाँची समाजको सकारात्मक परिवर्तनका लागि बाँचिरहेको उल्लेख गर्नुभयो ।











