हेटौँडाः पुरुष एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेश पहिलो खेलमा पराजित भएको छ । रिजन ढकालले ४ विकेट लिए पनि प्रतियोगिताको आफ्नो पहिलो खेलमा बागमती प्रदेश विभागीय टोली नेपाल एपीफ क्लबसँग पराजित भएको हो ।
आइतबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीफ क्लबले बागमतीलाई ७१ रनले पराजित गरेको हो । सुरुमा टस हारेर व्याटिङको निम्तो पाएको एपीफले बागमती सामु २७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । एपीफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७१ रन जोडेको थियो । एपीएफका लागि ओपनर व्याटर आशिफ शेखले उत्कृष्ट शतकीय पारी खेले । शेखले ३ छक्का र १४ चौक्काको मद्दतमा ११४ रन जोडे । यस्तै, एपीएफका सन्दिप जोराले ५२ रन, लोकेश बमले २९ रन बनाए भने युवराज खत्रीले अविजीत २६ रनको योगदान गरे । बलिङतर्फ एपीफका क्याप्टेन रोहितकुमार पौडेल र अभिशेष गौतमले समान ३ विकेट लिए ।
२ सय ७२ रनको लक्ष्य पछ्याएको बागमती २ सय रनमा अलआउट भएको हो । बागमतीले ४५ ओभर १ बलमा सबै विकेट गुमाएर २ सय रनमात्रै बनाउन सक्यो । बागमतीका विवेक राना मगरले ३४ रन, सुवास खत्रीले २७ रन, उत्तम थापा मगरले २६ रन र शिवम तिवारीले २५ रन बनाए । रिजन ढकालले अविजीत २० रन बनाउँदा बागमतीका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर ब्याटर आशुतोष घिरैया ९ रन र शुभ कंसकार ८ रन बनाएर आउट हुँदा बागमती सुरुदेखि नै दबाबमा देखिएको थियो । बलिङमा रिजन ढकालले ४ विकेट लिँदा ईशान पाण्डेले २ विकेट, क्याप्टेन सन्दिप लामिछाने र सोनु देवकोटाले समान १ विकेट लिएका थिए ।
यस्तै, आइतबार तल्लो मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २२ रनले पराजित गरेको छ । यी दुई टोलीबीचको खेल खराब मौसमका कारण ४७ ओभरमा सिमित गरिएको थियो । खेलको सुरुमा ब्याटिङ गरेको आर्मी क्लबले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । आर्मीका लागि बसिर अहमदले १०० रन र भीम सार्कीले ६२ रन बनाए । बलिङमा नरेन साउदले ३ विकेट र आकाश चन्दले २ विकेट लिए ।
लक्ष्य पछ्याएको पुलिस क्लबले आफ्नो सबै विकेट गुमाएर ४५ ओभर ३ बल्लमा २ सय २१ रनममात्रै बनाउन सक्यो । पुलिसका राशिद खानले ६० रन, शंकर रानाले ४६ रन र क्याप्टेन आरिफ शेखले ३८ रन बनाए । श्रवण यादवले ३ विकेट, राशिद खान र सागर ढकालले समान २ विकेट लिए ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोली (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी) गरी १० टोली सहभागी छन् । प्रतियोगिताको उपाधि विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
