बागमती प्रदेश सरकारअन्तर्गतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस वर्षबाट एमबीबीएस कक्षा सञ्चालन भएको छ । प्रतिष्ठानमा एमबीबीएसको पहिलो ब्याचमा ४ जना विदेशीसहित ४७ जना विद्यार्थी भर्ना भएका छन् । एमबीबीएस पढने ४ जना विदेशीहरु भारतीय छन् । उनीहरुमध्ये दुई जना बिहारका र दुईजना महाराष्ट्रका हुन् । एमबीबीएसमा भर्ना भएका ४३ विद्यार्थीहरु देशका विभिन्न २८ जिल्लाका रहेका छन् । काठमाडौं जिल्लाका ५ जना, ललितपुरका ४ जना, कास्की र महोत्तरी जिल्लाका ३–३ जना विद्यार्थी भर्ना भएका छन् । बारा, पर्सा, तनहुँ र अछाम जिल्लाका दुई–दुई जना विद्यार्थी भर्ना भएका छन् । मकवानपुर, चितवन, धादिङ, डडेलधुरा, डोटी, दार्चुला, बैतडी, बाजुरा, बर्दिया, डोल्पा, दोलखा, धनुषा, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, नवलपरासी, सप्तरी, सुनसरी, तेह्रथुम जिल्लाका एक–एक जना विद्यार्थी एमबीबीएसमा भर्ना भएका छन् ।
चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई एमबीबीएस कक्षा सञ्चालनको लागि ५० जनाको सिट ताकेको थियो । प्रतिष्ठानमा तोकिएको सिट क्षमताभन्दा ३ जना विद्यार्थी कम भर्ना भए पनि थप विद्यार्थी सम्पर्कमा रहेकाले सिट अनुसारकै विद्यार्थी संख्या पुग्ने सम्भावना रहेको छ । आयोगले अघिल्लो वर्ष प्रतिष्ठानलाई स्नातकोत्तर तहको विभिन्न विषय अध्यापनका लागि स्वीकृति दिएको थियो । गत वर्ष पीजीतर्फका विभिन्न ७ विषयमा ८ सिट निर्धारण गरिएकोमा यस वर्षका लागि आयोगले १६ विषयमा २७ सिट निर्धारण गरेको छ । प्रतिष्ठानले केही वर्ष अघिदेखि स्वास्थ्य क्षेत्रका विभिन्न विषयका स्नातक तहको पठनपाठन गराउँदै आएको छ । स्नातक तहको बीएससी नर्सिङ तथा फामेसीका साथै जनस्वास्थ्यतर्फको बीपीएच, प्रयोगशालातर्फको बीएमलटी कक्षा सञ्चालन गरिरहेको छ ।
बागमती प्रदेशसको राजधानी हेटौँडामा उच्च शिक्षाको नयाँ–नयाँ अवसरहरु थप भएका छन् । प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बागमती विश्वविद्यालयका कारण पनि हेटौँडालाई शैक्षिक केन्द्र बनाउन सहयोग पुग्ने अवस्था देखिन्छ । प्रदेश राजधानी भएकै कारण प्रतिष्ठान र विश्वविद्यालय हेटौँडामा स्थापना भएको हो । यसले हेटौँडा तथा अन्य क्षेत्रका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने आशा गर्न सकिन्छ । वन विज्ञान विषयमा विगतदेखि नै स्नातकोत्तरसम्मका कक्षा सञ्चालन भइरहेको हेटौँडामा कृषि तथा वन विश्वविद्यालयको वन संकायको डिन कार्यालय रहेको छ । कृषि तथा कानुन विषयको स्नातक तहको पठनपाठन हेटौँडामा सुरु भएको छ । सूचना प्रविधि तथा व्यवस्थापनका विभिन्न विषयको उच्च शिक्षाको अवसर पनि हेटौँडामा सहज बनिरहेको छ ।
स्वास्थ्य क्षेत्रका विषयहरुमा उच्चशिक्षा हासिल गर्न हेटौँडा बाहिर जानुपर्ने बाध्यता क्रमशः हट्दै जानुले हेटौँडाको विकासमा सहयोग पुग्ने देखिन्छ । हेटौँडामै एमबीबीएस (डाक्टर) पढाइ हुँदा मकवानपुरको विद्यार्थीको सहभागिता न्यून हुनुले भने विभिन्न प्रश्न उब्जाउन सक्छ । हेटौँडा स्कूल अफ म्यानेजमेन्टले सञ्चालन गरेको एमबीबीएस तयारी कक्षामा सहभागी १७ जनाले छात्रवृत्तिमा नाम निकालेको अवस्थामा हेटौँडामै एमबीबीएस कक्षा सञ्चालन हुनुले भविष्यमा हेटौँडाका विद्यार्थीले थप अवसर पाउने आशा गर्न सकिन्छ । हेटौँडामा एमबीबीएस कक्षा सञ्चालन हुँदा यहाँको शिक्षामा मात्र नभई स्वास्थ्य सेवामा पनि थप सुविधा प्राप्त हुने निश्चित छ । एमबीबीएस पढाउने विशेषज्ञ डाक्टरका साथै पीजी र एमबीबीएस अध्ययन गर्नेहरुका कारण हेटौँडाबासीले सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने सम्भावना बढेको छ ।
