हेटौँडा : मकवानपुर जिल्लाका पालिकाहरुमा आइतबारबाट (कक्षा–८) परीक्षा सुरु भएको छ । मकवानपुरका १० मध्ये ९ वटा पालिकामा पालिकास्तरीय वार्षिक परीक्षा आइतबारबाट सुरु भएको हो । परीक्षा १६ गते सम्पन्न हुने पालिकाका शिक्षा शाखा प्रमुखहरुले बताएका छन् ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकासहित बागमती, इन्द्रसरोवर, मकवानपुरगढी, मनहरी, भीमफेदी, थाहा, राक्सिराङ र कैलाशमा आइतबारबाट परीक्षा सुरु भएको हो । बकैया गाउँपालिकामा भने गएको बिहीबारदेखि नै पालिकास्तरीय परीक्षा सुरु भइसकेको छ । सबै विद्यालयहरुले पालिकाको क्यालेण्डर र निर्णयअनुसार परीक्षा सञ्चालन गरेको पालिकाका शिक्षा शाखा प्रमुखहरुले बताएका छन् ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भने चैत १९ गतेबाट सञ्चालन हुनेछ । मकवानपुर जिल्लाबाट एसईईमा ७ हजार १ सय ९२ विद्यार्थी सहभागी हुने छन् । यस वर्षको एसईईमा ५ हजार ५ सय २७ जना नियमित तथा ग्रेडवृद्धितर्फ १ हजार ६ सय ६५ जना सहभागी हुनेछन् । यीमध्ये प्राविधिक धारतर्फ १ सय ७५ जना नियमित र ग्रेडवृद्धिका ८८ गरी कुल २ सय ६३ जना एसईई परीक्षामा सामेल हुनेसमेत इकाईले जनाएको छ ।











