हेटौँडाः मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ५ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । बैंकिङ कसुर र वैदेशिक रोजगारी ठगी चालु मुद्दामा फरार भएकाहरुलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
बैंकिङ कसुरमा फरार भएका हेटौँडा–८ बस्ने ५६ वर्षीय चन्द्रबहादुर अधिकारीलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रहरी वृत्त बौद्ध काठमाडौं पठाइएको छ । बैंकिङ कसुरमै फरार भएका भीमफेदी–८ बस्ने ५० वर्षीय रन्जन कठायत, झापाको दमक–८ घर भई हाल काठमाडौं–३२ बस्ने ४१ वर्षीय विष्णुप्रसाद चुडाल र झापाको कचनकवल–२ घर भई हाल काठमाडौं–३२ बस्ने ५० वर्षीय अमरकुमार थापालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।
यस्तै, वैदेशिक रोजगार ठगी कसुरमा हेटौँडा–१९ की ३७ वर्षीया धनसानी गोलेलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाएको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
