Home जीवनशैली हेटौँडामा पनि इद पर्व मनाइयो

हेटौँडामा पनि इद पर्व मनाइयो

हेटौँडा–४ स्थित जामे मस्जिदमा नमाज पढ्दै ।

हेटौँडा : हेटौँडाका पनि इस्लाम धर्मावलम्बीहरुले इद (ईद–उल–फितर) पर्व मनाएका छन् । एक महिना लामो पवित्र रमजान कठोर व्रत (रोजा) पूरा भएको अन्तिम दिन शनिबार मुस्लिम समुदायले सामूहिक नमाज पढ्दै यो पर्व मनाएका हुन् ।

देश विदेश जस्तै हेटौँडा–४, भैरवरोडस्थित जामे मस्जिदमा बिहान साढे ७ बजेको नमाज पढेर सकाएपछि एक अर्कासँग अङ्गालो हालेर काँध जोडेर इद मुबारक भन्दै शुभकामना आदानप्रदान गरेर खुसी साटासाट गरेका थिए । फागुन ७ गतेदेखि सुरु भएको रमजान पर्व शनिबार सम्पन्न भएको हो । एक महिनासम्म चल्ने यो पवित्र महिनामा मुस्लिम समुदायले व्रत (रोजा) बस्ने गर्दछन् । रोजा अवधि पूरा भएपछि अन्तिम दिन इद पर्व मनाइन्छ । इद पर्वको अवसरमा घरघरमा विभिन्न मीठा परिकारहरू तयार गर्ने चलन छ । विशेषगरी सेवइ, खीर, विभिन्न मिष्ठान्न र मासुका परिकारहरू बनाएर परिवार, छिमेकी र आफन्तजनलाई खुवाउने गरिन्छ ।

रोजाका क्रममा मुस्लिम धर्मावलम्बीहरूले बिहान ५ बजेर २० मिनेटअघि नै खानेकुरा (सेहरी) खाइसक्नु पर्ने हुन्छ । त्यसपछि दिनभरि केही नखाई र पानीसमेत नपिई व्रत बस्ने गरिन्छ । बागमती प्रदेशको राजधानी हेटौँडासहित संघीय राजधानी काठमाडौंसहित तराईका जिल्लाहरू (बारा, पर्सा, रौतहट, बाँके, कपिलवस्तु) लगायत स्थानमा ठूलो संख्यामा मुस्लिम समुदायका मानिसहरू भेला भएर सामूहिक रूपमा नमाज पढेर खुसी साटासाट गरि पर्व मनाएका छन् । नमाजपछि एकअर्कालाई अँगालो हाल्दै ‘इद मुबारक’ भन्दै शुभकामना आदानप्रदान गर्ने परम्परा रहँदै आएको छ । इदको अवसरमा शनिबार बिहान करिब ५ सय जना भन्दा बढीको संख्याम मस्जिदमा मानिसहरु भेला भएको मस्जिद समितिले जनाएको छ ।

रमजान महिनाभरि गरिब, असहाय तथा विपन्न वर्गलाई सहयोग गर्ने चलन पनि रहेको छ । जसलाई जकात तथा सदकाको रूपमा चिनिन्छ । धार्मिक, साँस्कृतिक तथा सामाजिक दृष्टिकोणले इदको विशेष महत्व रहेको छ । यो पर्वले केवल धार्मिक आस्था मात्र नभई सम्पूर्ण समाजलाई जोड्ने पुलको रूपमा काम गर्ने विश्वास गरिन्छ ।

Exit mobile version