अहिले आम नेपाली नागरिक कौतुहलतासहित नयाँ सरकार गठनको पर्खाइमा छन् । २०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौं महानगरपालिकाको प्रमुख भएर चर्चामा आएका बालेन्द्र साह (बालेन) प्रधानमन्त्री बन्ने भएपछि स्वदेश तथा विदेशमा रहेका नेपालीहरु सरकार गठनको व्यग्र प्रतीक्षा गरिरहेका छन् । गत फागुन २१ गते मतदान सम्पन्न भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्यासित विजय हासिल गरेपछि नयाँ सरकारबारे चासो बढाएको हो । महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्रीमा प्रस्तावित भएर झापा–५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्दै अत्यधिक मतसहित विजयी भएका बालेनले कस्तो सरकार गठन गर्छन् र कसरी काम गर्छन् भन्ने कौतुहलता बढाएको छ ।
भदौमा भएको जेनजी आन्दोलनका कारण तत्कालीन प्रतिनिधिसभा विघटन गरी प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा भएको थियो । जेनजी आन्दोलनमा पुराना राजनीतिक दलहरुप्रति व्यापक वितृष्णा उजागर भएका कारण यस पटकको निर्वाचनमा मतदाताले धेरै क्षेत्रमा नयाँ अनुहारलाई विजयी गराएका छन् । अघिल्लो संसदीय निर्वाचनअघि गठन भएको रास्वपामा बालेनको प्रवेशसँगै मतदाताको पहिलो रोजाइ नै उक्त दल भयो । प्रत्यक्षतर्फको एक सय ६५ मध्ये एक सय २५ क्षेत्रमा विजयी भएको रास्वपाले एक सय १० समानुपातिकमध्ये पनि ५७ सिट हासिल ग¥यो । सरकार गठनका लागि एकल बहुमतमात्र नभई झण्डै दुई तिहाइ सदस्य पु¥याएको रास्वपा सरकार गठनको तयारीमा जुटिसकेको छ । संसद सचिवालयले आगामी चैत १२ गते प्रतिनिधिसभा सदस्यलाई सपथग्रहण गराउने कार्यक्रम तय भएकाले त्यसपछि लगत्तै सरकार गठन हुने अनुमान गरिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ठूलो सफलता हासिल गरेको रास्वपाले विजयी सांसदहरुलाई काठमाडौंमा दुई दिन अभिमुखीकरण समेत गराइसकेको छ । रास्वपाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरु अधिकांश युवा र पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेको हुँदा रास्वपाले सपथअघि नै अभिमुखीकरण गरेको हो । यस पटक मकवानपुर जिल्लाको दुबै निर्वाचन क्षेत्रबाट पनि रास्वपाका उम्मेदवार विजयी भएका छन् । रास्वपाले नवप्रवेशी सांसदका लागि संसदीय अभ्यास, सांसदको भूमिका, व्यक्तिगत आचरण, अध्ययन, अनुसन्धानको विषयमा अभिमुखीकरण गराइएको बताइएको छ । रास्वपाबाट निर्वाचित भएकाहरु अधिकांश एक–आपसमा अपरिचित रहेका कारण अभिमुखीकरणले आपसमा परिचय गराउनुका साथै अनुभव आदानप्रदान हुनुलाई सकारात्मक मानिएको छ ।
सुशासन र पारदर्शितामा खरो देखिएका बालेन र उनको सरकार कस्तो बन्ला भन्ने चासो धेरैलाई छ । पुराना राजनीतिक दल तथा नेताको विरासत ढालेर मधेश, पहाड सबैतिर रास्वपाका उम्मेदवार जिताउन सफल बालेनको कार्यशैली कस्तो हुने हो भन्ने चासो पनि उत्तिकै छ । मन्त्रालयको संख्या घटाएर मन्त्रिमण्डलको आकार सानो बनाउने र विज्ञलाई मन्त्री बनाउने चर्चाले कसले सरकारमा जाने अवसर पाउला र सरकारको स्वरुप कस्तो होला भन्ने जिज्ञासा पनि धेरैमा छ । विगतमा भएका भ्रष्टाचारको छानविन गर्नुका साथै सेवा प्रवाह तथा विकास निर्माणका काम नयाँ सरकारले कसरी अघि बढाउँछ भन्ने थप प्रतीक्षाको विषय बनेको छ । विगतका सरकारको स्वरुप र कार्यशैलीका कारण निराश बनेका आम नेपालीमा नयाँ सरकारप्रति ठूलो आशा र विश्वास छ । नागरिकका आकांक्षा र सुधारका काम धेरै नै भएकाले त्यसलाई बालेन सरकारले कसरी पूरा गर्छ भन्ने कौतुहलता छिट्टै अन्त्य हुने सम्भावना देखिन्छ ।











