हेटौँडा : फागुन महिनामा मकवानपुरमा १० जनाले आत्महत्या गरेका छन् । यस्तै दुर्घटनामा परी ८ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार सार्वजनिक गरेको फागुन महिनाको प्रगति विवरण अनुसार यस अवधिमा जिल्लाको सुरक्षा र सामाजिक अवस्था चुनौतीपूर्ण देखिएको छ ।

प्रहरीको तथ्याङ्क अनुसार फागुन महिनामा मात्रै मकवानपुरमा ५ जना पुरुष र ५ जना महिला गरी १० जनाले आत्महत्या गरेका छन् । यस्तै, सोही अवधिमा जिल्लाका विभिन्न स्थानमा भएका ३५ वटा सवारी दुर्घटनामा परेर ८ जनाले ज्यान गुमाएका छन् भने ९१ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १५९ वटा सवारी साधनलाई कारबाही गर्दा ११ लाख ६ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

फागुन महिनामा विविध अपराधका ७२ वटा मुद्दा दर्ता भएकोमा ४६ वटा फछ्र्योट भइसकेका छन् भने २६ वटा मुद्दा फछ्र्योट हुन बाँकी छ । दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी लागूऔषध सम्बन्धी १५ वटा, बैंकिङ कसुरका १० वटा र अभद्र व्यवहारका ९ वटा मुद्दा रहेका छन् । विभिन्न मुद्दामा संलग्न ६४ जना प्रतिवादीलाई पक्राउ गरिएको छ भने अदालतबाट फैसला भइसकेका पुराना मुद्दाका १० जनालाई पक्राउ गरी ४२ लाख ३४ हजार ५१० रुपैयाँ विगो रकम असुल गरिएको छ । यसैगरी घरेलु हिंसातर्फ १४ वटा उजुरी परेकोमा ६ वटामा मिलापत्र गराइएको छ भने २ वटा मुद्दालाई अदालत पठाइएको छ । प्रहरीका अनुसार फागुन महिनामा जिल्ला प्रहरी कार्यालयमा ६९ वटा ठाडो उजुरी र जिल्ला प्रशासन कार्यालयमार्फत ७ वटा उजुरी प्राप्त भएका छन् ।

लागूऔषध नियन्त्रणको क्षेत्रमा प्रहरीले उल्लेख्य सफलता प्राप्त गरेको छ । एक महिनाको अवधिमा ५ सय ५१ किलोग्राम गाँजा, ५२० मिलिग्राम चरेश, ८ ग्राम ८०० मिलिग्राम खैरो हिरोइन, नाइट्रजेपाम १२ ट्याब्लेट, ट्रामाडोल ६१३ क्याप्सुल, स्टागन २५ ट्याब्लेट र स्पास्पैन ३० चक्की बरामद गरिएको छ । यी अवैध सामग्री ओसारपसारमा संलग्न ४ वटा सवारी साधन र २७ जना व्यक्तिलाई नियन्त्रणमा लिई कानुनी कारबाही अगाडि बढाइएको छ । प्राकृतिक सम्पदा दोहनमा संलग्न ६ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएर ७२ हजार रुपैयाँ जरिवाना गरिएको छ भने २ लाख ९२ हजार १२७ रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ ।

प्रहरीले थाहा नगरपालिकाबाट २ जना र भीमफेदीबाट १ जनालाई १ थान एकनाले भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ । जिल्लाका ६ विभिन्न स्थानमा आगलागीका घटनाहरू समेत भएका छन् । अपराध नियन्त्रण र सामाजिक सचेतनाका लागि प्रहरीले फागुन महिनामा समुदाय तथा विद्यालय केन्द्रित ४५ वटा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।