हेटौँडा : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिलाई मंगलबार र बुधबार काठमाडौंमा अभिमुखीकरण कार्यक्रम भएको छ । कुल २ सय ७५ सिट मध्ये १ सय ८२ सिट जितेको रास्वपाले आफ्ना नवनिर्वाचित सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो । निर्वाचित अधिकांश युवा र पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेको हुँदा रास्वपाले सपथ अघि नै अभिमुखीकरण गरेको हो ।

अभिमुखीकरणमा सहभागी मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रकाश गौतम र क्षेत्र नम्बर २ बाट निर्वाचित प्रशान्त उप्रेती दुबैजनाले अभिमुखीकरण उपलब्धीमूलक भएको उल्लेख गरेका छन् । समृद्ध समाजसँग कुरा गर्दै उनीहरुले नवप्रवेशी सांसदका लागि संसदीय अभ्यास, सांसदको भूमिका, व्यक्तिगत आचरण, अध्ययन, अनुसन्धानको विषयमा प्रसस्त जानकारी प्राप्त भएको बताएका छन् । प्रकाश र प्रशान्त दुबैले यस किसिमको अभिमुखीकरण, अनुभाव आदानप्रदान तथा आपसमा अन्तरक्रियाको अवसर आवधिकरुपमा निरन्तर गर्दै जानुपर्नेमा जोड दिएका छन् ।

‘नवनिर्वाचित सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको र सहभागिताका लागि उपस्थित हुन भनी चैत १ गते जानकारी प्राप्त भयो’, नवनिर्वाचित सांसद उप्रेतीले भन्नुभयो, ‘मंगलबार र बुधबार २ दिनका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागी भएर मैले र सहभागी सबैले धेरै कुरा सिक्ने, आफूलाई संसदीय अभ्यासमा जिम्मेवार भएर अगाडि बढ्न तयारीका लागि प्रभावकारी सिकाईको अवसर रह्यो ।’ अभिमुखीकरणमा सांसदको रुपमा संसदीय भूमिका मात्रै नभई व्यक्तिगत आचरणदेखि बहुआयामिक भूमिकाका बारेमा बुझ्ने अवसर रहेको उहाँको भनाइ छ ।

जनताको मतबाट निर्वाचित भएका सांसदहरुले कसरी जनमतको सम्मान हुने गरी काम गर्ने ? सांसदको जिम्मेवारी के हो ? संसदमा, संसदीय समितिमा सांसदको भूमिका कस्तो हुने भन्ने जानकारी प्राप्त भएको उप्रेतीले बताउनुभयो । संसदमा ऐन, नियम निर्माणको प्रक्रिया, विधेयक, संसदीय समितिको काम, सांसदको भूमिका, अध्ययन–अनुसन्धानको विषयमा पनि उल्लेख्य जानकारी प्राप्त भएको उप्रेतीको भनाइ छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित कान्छो सांसद उप्रेतीले जनमतबाट निर्वाचित भएपछि थप जिम्मेवारी र कर्तव्य बुझ्ने अवसर प्राप्त भएको बताउनुभयो ।

यस्तै अर्का सांसद प्रकाश गौतमले पनि जनमतबाट निर्वाचित भएर काम गर्ने क्रममा धेरै कुरा सिक्नुपर्ने, जान्नुपर्ने बताउनुभयो । गौतमले दुई दिने अभिमुखीकरणमा संसदमा कसरी प्रस्तुत हुने, कसरी बोल्ने, विषयको उठान कसरी गर्ने भन्ने सिक्ने अवसर पाएको बताउनुभयो । सांसदको दायराका बारेमा समेत जानकारी प्राप्त भएको उल्लेख गर्नुहुँदै गौतमले भन्नुभयो, ‘निर्वाचित भएपछि प्राप्त जिम्मेवारीलाई बुझ्न अभिमुखीकरण फलदायी भएको छ । हामी निखारिँदै जानुपर्छ । यस किसिमको अभिमुखीकरण नियमित भइरहनु पर्छ ।’ निर्वाचनमा मतदाताको गुम्सिएको मत पाएर निर्वाचित भएको बताउनुहुँदै जनताको सहज जीवनका लागि अबको संसद र सरकारले काम गर्नुपर्ने गौतमले स्पष्ट पार्नुभयो ।