Home मुख्य समाचार शिक्षकको पेशागत विकासका लागि तालिम

शिक्षकको पेशागत विकासका लागि तालिम

कार्यशालाको उद्घाटन गर्नुहुँदै विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा. ज्ञानबहादुर थापा ।

हेटौँडा : शिक्षकको पेशागत विकासका लागि मकवानपुर बहुमुखी क्याम्पसमा कार्यशालाको सुरुवात भएको छ । विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा मकवानपुर बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यशालामा बागमती र मधेश प्रदेशका सामुदायिक क्याम्पसका ३० जनाको सहभागिता रहेको छ । बुधबार बिहान मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको अध्यक्षता तथा विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा. ज्ञानबहादुर थापाको प्रमुख आतिथ्यमा कार्यशालाको उद्घाटन कार्यक्रम भएको हो ।

मकवानपुर बहुमुखी क्याम्पसमै सुरु भएको कार्यशाला ६ दिन सञ्चालन हुनेछ । कार्यशालाको उद्घाटन कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यमबहादुर सिलवालले वर्तमान विश्व र हाम्रो परिवेश अनुसार प्राध्यापकको क्षमता विकास गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको जानकारी दिनुभयो । प्राध्यापकको क्षमता विकास हुँदै गर्दा विद्यार्थीले लाभ हासिल गर्ने अपेक्षा गरिएको क्याम्पस प्रमुख सिलवालले बताउनुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा. ज्ञान बहादुर थापाले मानव सभ्यताको विकासको अवधिदेखि तालिम भइरहेको र प्राध्यापकका लागि आयोजित तालिम सहशिक्षा र स्वस्तरीकरणको अवसरको रुपमा सदुपयोग गर्न सहभागी प्राध्यापकहरुसँग आग्रह गर्नुभयो । उच्च शिक्षामा शिक्षक जनशक्ति नै महत्वपूर्ण पक्ष भएको दावी गर्नुहुँदै उहाँले शिक्षकमा लगानी गर्नुपर्ने, शिक्षकको सम्मान बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उच्च शिक्षालाई समाज र औद्योगिक विकाससँग जोड्नुपर्ने बताउनुहुँदै उहाँले शिक्षाको विकास नभई समग्र विकास हुन नसक्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. प्रदीप ज्ञवालीले विश्वविद्यालय अनुदान आयोगले प्रतिष्ठानहरुलाई नचिन्ने भन्दै दुखेसो गर्नुभयो । उच्च शिक्षामा प्रतिष्ठानको योगदानलाई बिर्सेर सहकार्य नै नगर्नु स्वभाविक नभएको उहाँको भनाइ थियो । कार्यशालाको उद्घाटन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष अशोक शाक्य, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईका अध्यक्ष घनश्याम घिमिरेको पनि आतिथ्य रहेको थियो ।

Exit mobile version