हेटौँडाः मकवानपुर जिल्लामा करिब डेढ अर्ब राजस्व बक्यौता रहेको छ । आन्तरिक राजश्व कार्यालय मकवानपुरले प्राप्त गर्नुपर्ने बक्यौता १ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो । विभिन्न कम्पनी तथा उद्योगहरुबाट प्राप्त हुनुपर्ने कर, ब्याज तथा जरिवाना बक्यौता रहेको कार्यालयले जानकारी दिएको छ ।
हालसम्म २ सय २२ जनाले कम्पनीको आयकर नबुझाएको, १२ जनाले व्यक्तिगत आयकर नबुझाएको र ३ सय ९४ जनाले मूल्य अभिवृद्धि कर नबुझाएको कार्यालयको तथ्याङ्क छ । कार्यालयमा विसं २०३१ सालदेखिका व्यक्तिगत आयकर दाखिला नगरेका रेकर्डसमेत रहेका छन् । सो बेलादेखि हालसम्म व्यक्तिगत आयकरबापत नतिरिएका बक्यौता १५ करोड रहेको कार्यालयका प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
यसवर्ष आयकर अन्तर्गत करिब २ करोड रुपैयाँ पुरानो बक्यौता तिरेको हुँदा २ करोड राजस्व जोडिन आएको कार्यालयले जनाएको छ । यसवर्ष कार्यालयमा कम्पनीहरुको आयकरबापत ६९ करोड असुल हुन बाँकी छ । यसवर्षसम्म मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा झण्डै ४ सय जनाको करिब ७५ करोड रकम असुल हुन बाँकी रहेको छ ।
कार्यालयले आफ्नो बक्यौता उठाउन मकवानपुर उद्योग वाणिज्य संघसँग समन्वय गरिहहेको, सूचना तथा ताकेता गर्ने गरेको र पत्रसमेत काट्ने गरेको भएपनि उद्योगी तथा व्यवसायीहरुले तिर्न नसक्ने अवस्था रहेको बताउने गरेको प्रमुख कर अधिकृत सुवेदी बताउनुहुन्छ । कार्यालयले गत वर्ष पनि १ सय २० वटा कम्पनीलाई कर तिर्न अनुरोध गर्दै सूचना निकालेको थियो । यद्यपि व्यवसायीहरु राजस्व तिर्न सक्ने अवस्थामा नभएको भन्दै पन्छिँदै आइरहेका छन् ।
यसवर्ष आन्तरिक राजस्व विभागले राजस्व असुलीका लागि विभिन्न कर छुटका योजना आएका थिए । यो योजनाको फाइदा लिँदै १ सय ६९ जना करदाताहरुले ६ करोड ३७ लाख ब्याज तथा जरिवाना छुट पाएको कार्यालयले जानकारी दिएको छ । तर कतिपय करदाताहरुले राजस्व जरिवाना छुट भएको मौकामा समेत तिर्न नसकेकाले व्यवसायीहरु आर्थिकरुपमा समस्यामा छन् भन्ने स्पष्ट देखिएको सुवेदीको भनाइ छ ।
यसैवर्ष विभागले सामाजिक संघसंस्थाहरुको तिर्नुपर्ने बक्यौता कर निर्धारण भएर बसेको मध्ये मुल करमात्रै तिर्दा बाँकी ब्याज, जरिवाना सबै मिनाहा हुने योजना ल्याएको थियो । यस कार्यक्रमबाट पनि धेरै करदाताहरु लाभान्वित भएको कार्यालयले जनाएको छ ।
अधिकांश कम्पनीहरु टाट पल्टिएपछि यसरी कर बक्यौता रहने गरेका छन् । कतिपयले निश्चित समयमा कर तिर्न नसक्ने भएपछि सम्पत्ति रोक्का पनि गर्ने गरिएका छन् । यसरी बक्यौता राख्नेमा नेपालीहरुसँगै केही चिनियाँद्वारा सञ्चालित कम्पनीहरुसमेत रहेको प्रमुख कर अधिकृत सुवेदीले जानकारी दिनुभयो । यसरी टाट पल्टिएका कम्पनीहरुको बक्यौता २०६५ सालदेखि रहेको कार्यालयले जनाएको छ ।











