हेटौँडा : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता–२०८२ का लागि बागमती प्रदेशको टोली घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले घोषणा गरेको १५ सदस्यीय टोलीमा मकवानपुरका अल्लराउन्डर शुभ कंसाकार र बलर रिजन ढकाल पनि परेका छन् ।
संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेको नेतृत्वमा बुधबार १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा ललितपुरका विवेक राना मगर, सचिन लेखक र आशुतोष घिरैया समावेश छन् । काठमाडौंका ईशान पाण्डे उपकप्तान रहेको उक्त टोलीमा काठमाडौंका अन्य खेलाडी उत्तम थापा मगर, दयानन्द मण्डल, प्रतिश जिसि र सोनु देवकोटा पनि पर्न सफल भएका छन् । यस्तै भक्तपुरका शिवम् तिवारी, सुवास खत्री र रिन्जिन लामासहित चितवनका पवनबहादुर थापा छनोट भएका छन् ।
संघले फागुन २५ गतेदेखि चैत्र ३ गतेसम्म बागमती प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । उक्त प्रतियोगितामा खेलाडीको प्रदर्शनका आधारमा प्रदेश टोली बनाएको हो । ७ वटा टोली सम्मिलित प्रदेशस्तरीय छनोट प्रतियोगिता ललितपुरले जितेको हो ।











